गाविस अध्यक्ष र प्रदेश सांसद हुँदै संघमा पुगेका आचार्य

पाल्पा : कुनै बेला पाल्पा क्षेत्र नम्बर १ कम्युनिष्टको किल्ला मानिन्थ्यो। जहाँ अधिकांशले कम्युनिष्ट विचारमा आस्था राख्ने गर्दथे। मानौँ की, यहाँ कम्युनिष्टको तर्फबाट ढुंगा उठाए पनि जित्ने अवस्था थियो। पछिल्लो क्रममा भने त्यति सहज देखिदैन। 

कम्युनिष्ट पार्टी विभाजन हुनु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको विस्तार हुँदै जानुले विगतको तुलनामा नेकपा एमालेलाई केही चुनौती थपिएको अवस्था देखिन्छ। यहाँका केही स्थानीय तहमा फरक पार्टीका उम्मेदवारले जितेका उदाहरण छन्।  

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ। एमालेलाई जुन प्रकारको चुनौती विपक्षी दलको छ भन्ने आंकलन गरिएको थियो। तर त्यो सावित भएन्। जनजाती समुदायको बाहुल्यता रहेको यहाँ फरक समुदायका उम्मेदवार उठेर जित्न सक्दैनन् भन्ने कतिपयको अड्कलबाजी थियो। उनी गठबन्धनकातर्फबाट कांग्रेसका ज्ञानबहादुर गाहा उम्मेदवार थिए। 

नेकपा एमालेबाट नारायणप्रसाद आचार्य उम्मेदवार भइ चुनावी मैदानमा होमिए। अन्ततः आचार्यले जिते। निस्वार्थ भावनाले विकास निर्माण र जनताको काम गर्ने नेता भएकाले आचार्यले विजयी भएको चर्चा हुन थालेको छ। 

विगतका निर्वाचनमा एमालेका उम्मेदवारले सहज जित्ने बताइन्थ्यो। यसपालि कठिन मानिएको यहाँ एमालेका उम्मेदवार आचार्य अत्याधिक मतसहित विजयी भए। आचार्य १० हजार ८४७ मतान्तरणले विजयी भएका हुन्। उनले ३१ हजार १०३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी गाहाले २० हजार २५६ मत पाए।

यस्तै स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८६३, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार मेहरमान रानाले ८५,  राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मंगोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले १ हजार ९ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले एक सय १५ प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवारहरू नारायण न्यौपानेले २७,  राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली) चिन्हले १० मत प्राप्त गरे। 

मुख्य समाचार राजनीति समाचार