कमल थापा भन्छन् : वर्तमान अवस्थामा कांग्रेस र एमाले मिलेर संयुक्त सरकार सञ्चालन गर्नु देश र जनताको हितमा


२१ मंसिर,हेटौंडा- राप्रपा (नेपाल) का अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा कांग्रेस र एमाले मिलेर संयुक्त सरकार सञ्चालन गर्नु देश र जनताको हितमा हुने बताएका छन् ।

अध्यक्ष थापाले अपवित्र गठबन्धन बनाएर वा लोभलालच र प्रलोभनको आधारमा सांसदहरुलाई आफ्नो पक्षमा पारेर देशले भोग्नु परेको संकट कदापि समाधान नहुने भन्दै च्याँखे थापेर स्वार्थशिद्ध गर्न चाहने अवसरवादीहरुलाई निरुत्साहित गर्नु जरुरी रहेको बताएका छन् ।
राप्रपा (नेपाल) का अध्यक्ष थापाको भनाई :
हुन त भर्खर निर्वाचनमा पराजित भएको कारणले यस्तो टिप्पणी गर्यो भन्ने आरोप लाग्ला, एक सिट पनि नजित्नेले ठूलो कुरा गरेको आरोप पनि लाग्ला। चुनाबमा हारजीत त भइरहन्छ । चुनाव हार्दैमा देश र जनताप्रतिको चिन्ता र चासो बाट कुनै पनि स्वाभिमानी नेपाली नागरिक निरपेक्ष रहन सक्तैन ।

अहिले देश संकटमा छ। राष्ट्रियता कमजोर भएको छ, बाह्य शक्तिहरुको चलखेल र प्रभाव बढेको छ, नेपाल अन्तर्राष्ट्रिय महासक्तिहरुको रणनीतिक प्रतिस्पर्धा स्थलमा परिणत हुने सम्भावना टडकारो देखिन्छ। दलहरु प्रति आमजनताको वितृष्णा बढेको छ, लोकतन्त्र संस्थागत हुन सकेको छैन। भ्रष्टाचार व्यापक भएको छ, बेरोजगारी समस्याले विकराल रुप लिएको छ। अर्थतन्त्र धराशायी हुने खतरा बढेको छ । धर्मपरिवर्तनको डढेलोमा राष्ट्रिय पहिचान गुम्ने अवस्था सिर्जना हुँदैछ। यस्तो अवस्थामा देशलाई संकटबाट मुक्त तुल्याउनको निमित्त आखिर राजनीतिक दलहरुले नै इमान्दार प्रयास गर्नुबाहेक अर्को विकल्प छैन।

जसरी संविधान निर्माणको बेलामा देशका दुई प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा(एमाले)ले संयुक्त सरकार बनाएर संविधान निर्माणमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेका थिए, अहिले फेरि एकपटक संविधानको रक्षाका निमित्त, संविधानको भावनाअनुसार राज्य सञ्चालनको आधार तयार गर्नको निमित्त, मुलुकमा शान्ति र स्थायित्व कायम गर्न तथा र आर्थिक सम्वृद्धिको लक्ष्य हासिल गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)ले आपसमा मिलेर, दिगो समझदारी कायम गरि पाँच वर्ष संयुक्त सरकार सञ्चालन गर्नु देश र जनताको हितमा हुनेछ।

अपवित्र गठबन्धन बनाएर वा लोभलालच र प्रलोभनको आधारमा सांसदहरुलाई आफ्नो पक्षमा पारेर देशले भोग्नु परेको संकट कदापि समाधान हुँदैन। च्याँखे थापेर स्वार्थशिद्ध गर्न चाहने अवसरवादीहरुलाई निरुत्साहित गर्नु जरुरी छ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार बनेको अवस्थामा युवाहरुको नवोदित राजनीतिक दलहरुले पनि प्रतिपक्षमा रहेर सरकारलाई खवरदारी गर्ने र भविष्यमा राष्ट्रको नेतृत्व लिने अनुभव हासिल गर्न सक्छन्।

के नेपाली कांग्रेस र नेकपा(एमाले)ले यो समयको माग र राष्ट्रिय दायित्व निर्वाह गर्ने आँट गर्न सक्छन्? मलाई विश्वास त लागेको छैन। चुनावमा खर्चपानी दिने र गठवन्धन निर्माणमा सहयोगी भूमिका खेल्ने देशीविदेशी शक्तिहरुले नेपालको भलो हुने, नेपालमा शान्ति र स्थायित्व कायम हुने काम गर्न दिन्छन् जस्तो लाग्दैन।

देशीविदेशी शक्तिहरुको प्रभावबाट नेपालका दलहरु मुक्त हुन सक्ने वा नसक्ने भन्ने कुरा चाँडै नै थाहा भैहाल्छ।

मुख्य समाचार राजनीति