हेटौंडामा पुस १ गतेबाट जिल्ला स्तरीय तेक्वान्दो

हेटौंडा । भोली पुस १ गते शुक्रबारबाट हेटौंडामा १५ औँ मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाको बागमती, बकैया, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको गरी १५ वटा डोजाङले सहभागिता जनाउने भएका छन् ।

पुरुष र महिलाका विभिन्न विद्यामा हुने प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ १० वटा तौल समूहमा प्रतिस्पर्धा गराईने तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले जानकारी दिए । अध्यक्ष बज्राचार्यले पुरुषतर्फ ५ केजीको फरकमा ६३ केजीसम्म र महिलातर्फ ५ केजीको अन्तरमा ५२ केजीसम्मका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने बताए । 

मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले नै खर्च गर्ने गरी गर्न लागिएको प्रतियोगिताका लागि करिब २ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ र ५ हजार रुपैयाँको सामग्री प्रदान गरिनेछ । 

प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार अध्यक्ष बज्राचार्य स्वंले आफ्नो व्यक्तिगत खर्चमा दिन लागेका बताए । उनले लामो समय सम्म प्रतियोगिता नहुँदा जिल्लाका खेलाडीहरु उत्पादन गर्न समस्या हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागेका बताए ।prastakhabar

खेलकुद समाचार