कांग्रेस नेता पौडेललाई जापानको राजकीय सम्मान

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ। सन् २०२० अप्रिल २९ मा घोषणा भएको ‘अर्डर अफ द राइजिङ सन’ उनलाई बिहीबार जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो।जापानी सम्राट् मेइजीले सुरु गरेको र विश्वका विशिष्ट व्यक्तिलाई प्रदान गरिने यो उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो।

वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय  सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि विभूषित गरिएको भनिएको छ।

वरिष्ठ नेता पौडेलले सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत बनेका थिए। उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्धनमा पनि सक्रिय थिए।

मुख्य समाचार राजनीति