गठबन्धनको सरकार बन्दा कर्मचारीहरुमा काम नगर्ने प्रवृत्ति बढ्यो : मुख्यमन्त्री पाण्डे

प्रतिनिधि र प्रदेशसभा चुनावको सम्पूर्ण मत परिणाम आइसकेको छ । निर्वाचन आयोगका अनुसार देशको सबैभन्दा ठूलो पार्टी संघ र प्रदेशमा नेपाली कांग्रेस बनेको छ भने दोस्रो ठूलो पार्टी नेकपा एमाले बनेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति, जनमत पार्टी र राष्ट्रिय जमोर्चाको पनि प्रतिनिधि सभामा उपस्थिति रहनेछ । निर्वाचनको सम्पूर्ण नतिजा आएसँगै अबको सरकार कसको र कस्तो बन्नेछ भन्ने कौतुहलता छ । साथै प्रदेश सरकारमा मुख्यमन्त्री कुन दलबाट को बन्छ भन्नेकुरा पनि चासोको विषय छ ।

नयाँ निर्वाचनसँगै अहिलेको समीकरण परिवर्तन हुन्छ वा अहिलेकै गठबन्धनले प्रदेशसहित संघमा पनि सरकार चलाउँछ ? त्यो आगामी दिनमा देखिने नै छ । संघीय संरचनामा देश गइसकेपछिको ५ वर्ष बितिसक्दा प्रदेशले गरेका अनुभव, जनताले संघीय प्रणालीबाट पाएका सहज सुविधामा कत्तिको परिवर्तन भएको छ त ? संघीय संरचनाले जनताको समस्या बुझ्ने प्रयास र समाधानको उपाय कत्तिको खोजेको छ ? यसको छिनोफानो अबको ५ वर्षमा प्रदेशले गरेका काम कारबाहीले देखाउने नै छ ।

एकातर्फ संघीय संरचनामा जाँदा राष्ट्रले ऋणको भार व्यहोर्नुपरिरहेको भन्दै गर्दा आम सर्वसाधारणले संघीयताका कारण पाएको सहज, छिटो र छरितो कामको व्यवस्थापनलाई पनि भुल्नु हुँदैन । यद्यपी संघीयता पछि सबै काम सहज भइसकेका छन् भन्ने होइन, केही विकृति पनि देखिएका छन् । तर नराम्रा पक्षलाई हटाउँदै राम्रा पक्षको साथ र सहयोगमा लाग्नुपर्छ । ७ प्रदेशमध्ये प्रदेश १ को बाहेक अन्य प्रदेशको नामाकरण पनि भइसकेको छ । सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश बाहेकका प्रदेशमा एक भन्दा बढी मुख्यमन्त्री बनिसकेका छन् ।

वाग्मती प्रदेशमा त ५ वर्षको कार्यकालमा ३ जना मुख्यमन्त्री बनिसकेका छन् । तत्कालीन नेकपा फुटेसँगै डोरमणि पौडेल पनि वाग्मतीको मुख्यमन्त्रीबाट हट्नुपर्‍यो । त्यसपछि नेकपा एमालेको समर्थनमा पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्रीमा चयन हुनुभयो । त्यसको केही महिनापछि गठबन्धनको सरकार बनेसँगै वाग्मती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे चयन हुनुभएको थियो । त्यसपछिको कार्यकाल संघीयताको कार्यान्वयनलाई बलियो बनाउन, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्यको पूर्वाधार र प्रणालीलाई व्यवस्थित बनाउनमा बिताएको बताउनुहुन्छ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे ।

उहाँले गठबन्धनको सरकार बन्दा कर्मचारीमा काम नै नगर्ने प्रवृत्ति बढेको बताउनु भयो । उहाँले सरकारमा फरक–फरक पार्टी भएपछि कर्मचारीमाथि एक खालको दबाब पर्दा काम कारबाही ढिलाइ हुने गरेको बताउनु भयो । मुख्यमन्त्री पाण्डेले फरक दलहरु मिलेर सरकार चलाउँदा कर्मचारीहरु कसैको दबाब आउने हो की भन्ने मनशायमा रुमल्लिने गरेको आफ्नो अनुभवले पाएको बताउनुभयो ।-न्युज एजेन्सी नेपाल

मुख्य समाचार राजनीति