देउवाले पार्टीका सांसदलाई बोलाए बालुवाटार

काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी भइरहँदा पार्टी सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदलाई बालुवाटार बोलाएका छन्।निर्वाचनको अन्तिम मत परिणाम आएसँगै उनले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिन शनिबार दिउँसो ३ बजे बालुवाटारमा बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। 

बधाइ ज्ञापनका लागि भनिए पनि बालुवाटारको भेलालाई संसदीय दलको नेताको चुनावको तयारीका रूपमा हेरिएको छ । यस क्रममा सरकार गठनका लागि भइरहेका प्रयास लगायत सांसदको भूमिकाबारे कुराकानी हुने बताइएको छ।

काग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षबाट ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना सांसद निर्वाचित भएका छन्। कांग्रेस संसदीय दलको नेतामा सभापति देउवासहित आधा दर्जन नेताले आकांक्षा देखाएका छन्।

यसै साताभित्र संसदीय दलको नेता छान्न निर्वाचन गर्ने कांग्रेसको तयारी छ । 

मुख्य समाचार राजनीति