वैदेशिक रोजगारीमा पीडित बनेका परिवारका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण

हेटौंडा । दिगो आर्थिक श्रोतको जोहोका लागि वैदेशिक रोजगारीमा पुगेर बेपत्ता भएका, ज्यान गुमाएका र शारिरिक अशक्त परिवारका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा पुगे पनि कामको शिलशिलामा विदेशमा हराएका र अशक्त भएकाहरुको परिवारलाई सरकारको मातहत रहेको वैदेशिक रोजगार विभाग र बोर्डबाट आर्थिक सहायता र राहतको सूचिमा नपरेका परिवारलाई हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् ।

सुरक्षित वैदेशिक रोजगारीका लागि हेटौंडा उपमहानगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको सन्दर्भ पारेर सरकारी सुविधाबाट वञ्चित रहेका पारिवारको ९ जना छात्रछात्रालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको विभिन्न विद्यालयमा अध्ययनमा रहेका छात्रछात्रालाई अध्ययनमा सहयोगका लागि झोला सहित कापी कलम, कलर बक्स, जुत्ता सहितको सामग्री वितरण गरिएको हो । सामीले छात्रछात्राको आवश्यताको आधामार सामग्रीहरु वितरण गरेको बताइएको छ ।

सामग्री हस्तान्तरण गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले देशको आर्थिक श्रोतलाई बलियो बनाउनका लागि वैदेशिक रोजगारीमा गएका परिवारका बालबालिकालाई सहयोग गर्नुले उनीहरुको शैक्षिक गुणस्तरमा मदत पुग्ने बताइन् । वैदेशिक रोजगारीको शिलशिलामा बेपत्ता भएका र शारिरीक रुपमा अशक्त भई काम गर्न नसक्ने अवस्थाका व्यक्तीको लागि सहयोगि बन्न उपमहानगर तयार रहेको उनले बताइन् ।

पीडामा रहेका बालबालिकाको अध्यापन र शैक्षिक गुणस्तर बृद्धिमा सहयोग गर्न उपमहानगरपालिका तयार रहेको भन्दै नगर प्रमुख लामाले सधै सहयोगी बनेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १६ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजनक रामकृष्ण कोइराला, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सीनाको उपस्थिती रहेको थियो ।

समाचार