नवनिर्वाचित सांसदहरुलाई चित्रबहादुर केसीले शपथ खुवाउने

काठमाडाैं : संघीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन  गृहकार्यमा जुटेको छ।नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ। ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छन। नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शपथ खुवाउने भएका छन्। केसी महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबरा भन्दा बढी उमेरका छन्। वि.सं १९९८ माघ २० गते जन्मिएका केसी ८० वर्षका भए। 

 १९९९ बैशाख २४ गते जन्मिएका ठाकुर ८० वर्षका  भए। यादवले भने आफ्नो नागरिकतामा उमेर बढाइएको र आफ्नो वास्तविक उमर ६९ वर्ष भएका बताउने गरेका छन्। उनको नागरिकतामा जन्ममिति १९९४ बैशाख २४ रहेको छ। उनले आफू नागरिकता भन्दा कान्छो रहेकाले शपथ खुवाउन अस्वीकार गरेका छन्। जबरा पनि ८० वर्षका भए। उनी वि.सं १९९९ बैशाख २५ गते जन्मिएका हुन्। उनि पनि ८० बर्षका छन्। 

कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको  तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ। सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए। उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिएका थिए।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ। सुन, चाँदी र तामा जडित प्रतिलोगो करिबरू पाँच हजार आठ सयको लागतमा तयार भएको हो। शपथ दिलाउने दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।

मुख्य समाचार राजनीति समाचार