अफगानिस्तानका महिलामाथि तालिबानको एकपछि अर्को प्रतिबन्ध, अब विश्वविद्यालयमा जान पनि नपाइने

एजेन्सी : अफगानिस्तानमा विद्यालय शिक्षापछि अब केटीहरूका लागि उच्च शिक्षामा पनि प्रतिबन्ध लगाइएको छ।

अफगानिस्तानको उच्च शिक्षा मन्त्रीको पत्रअनुसार तालिबानले देशका विश्वविद्यालयहरूमा केटीहरूको शिक्षामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

यो आदेश अर्को सूचना नआएसम्म कायम रहने उच्च शिक्षा मन्त्रीले बताए। यसलाई जतिसक्दो चाँडो कार्यान्वयन गरिनेछ।

अफगानिस्तानमा यसअघि नै महिलालाई विद्यालय जान प्रतिबन्ध लगाइएको थियो। अहिले उनीहरूको उच्च शिक्षाको पहुँच पनि बन्द भएको छ।

काबुल युनिभर्सिटीकी एक छात्राले यो खबर सुनेदेखि लगातार रोइरहेकी बताइन्।

तीन महिनाअघि अफगानिस्तानका केटी र महिलाहरूले विश्वविद्यालयको प्रवेश परीक्षा दिएका थिए।

तर, केटीहरूले अध्ययन गर्न सक्ने विषयहरूमा व्यापक प्रतिबन्धहरू राखिएको थियो। पशु चिकित्सा विज्ञान, इन्जिनियरिङ, अर्थशास्त्र र पत्रकारिता जस्ता विषयहरूमा कडा प्रतिबन्ध थियो।

गत वर्ष, अफगानिस्तानमा तालिबान शासनपछि, विश्वविद्यालयहरूमा पुरुष र महिला विद्यार्थीहरूका लागि छुट्टाछुट्टै प्रवेश र अध्ययनको लागि छुट्टै कोठाहरू सुरु गरिएको थियो।

महिला वा वृद्ध प्राध्यापकहरूले मात्र छात्राहरूलाई पढाउन सक्थे। यस प्रतिबन्धको बारेमा एक विश्वविद्यालयका विद्यार्थीले बीबीसीसँग बताइन्, ‘तालिबान महिला र उनको शक्तिसँग डराउँछ।’

तालिवानको यो आदेशको अमेरिकाले विरोध गरेको छ।

अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत रिना अमिरीले ट्वीट गरिन्, ‘‘युवती र महिलाहरूलाई विद्यालय र विश्वविद्यालयको शिक्षाबाट बञ्चित गर्नु र उनीहरूलाई लक्षित गर्दै जारी गरिएको १६ वर्षमाथिको आदेशपछि तालिबा ९०को दशकको अतिवादी नीतिमा फर्किएकोमा कुनै सन्देह रहेन। तालिबानले ५० प्रतिशत जनसंख्या र स्थायित्वका लागि अफगानिस्तानको आशा समाप्त गरेका छन्।’

अन्तराष्ट्रिय शिक्षा