चिसोबाट जोगाउन जिल्लाले ४ देखि १२ लाखसम्म खर्च गर्न पाउने

शीतलहर, हिमपात र अत्यधिक चिसोबाट सर्वसाधारणलाई बचाउन ७७ वटै जिल्लामा ४ लाखदेखि १२ लाखसम्म खर्च गर्ने अख्तियारी सरकारले दिएको छ।जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी विभिन्न जिल्लालाई अख्तियारी दिएको गृह मन्त्रालयले जनाएको छ। तराईमा शीतलहर र हिमाल तथा पहाडमा अत्यधिक चिसो शुरु हुन लागेपछि सरकारले पूर्वतयारीस्वरुप यस्तो निर्णय गरेको हो।

आज गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट शीतलहर, हिमपात तथा अत्यधिक चिसो हुने जिल्लालाई तीन तहमा विभाजित गरी सोहीअनुरुप वितरण गर्ने अख्तियारी मन्त्रालयले प्रदान गरेको छ।उहाँका अनुसार आजै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणलाई रकम पठाउन र जिल्लामा जाडो शीतलहरबाट जोगाउने तयारीमा जुट्न निर्देशन दिइसकेको छ। अघिल्लो वर्ष मन्त्रालयबाट सीधै जिल्लामा ४ लाख पठाइने गरिएको थियो तर यस वर्षदेखि प्राधिकरणमार्फत रकम जिल्लामा जानेछ।

मन्त्रालयका अनुसार २० हिमाली जिल्लालाई ४ लाखका दरले खर्च गर्ने अख्तियारी दिएको छ भने शीतलहर हुने तराईका प्रभावित जिल्लालाई १२ लाखसम्म खर्च गर्ने अख्तियारी दिइएको छ। नवलपरासी पूर्व, दाङ, बाँके, बर्दिया र कञ्चनपुरलाई ८ लाखका दरले खर्च गर्ने अख्तियारी दिइएको छ।

कोषमा रकम अपुग भएमा रकम माग गरि नेपाल सरकारको स्वीकृत मापदण्डबमोजिम तोकिएको सीमाभित्र खर्च गर्न पनि निर्देशन दिइएको महाशाखा प्रमुख कोइरालाले बताए।

समाचार समाज