दायित्वबाट पन्छिन नमिलेर हारे पनि राजीनामा नदिएको हुँ : मन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै चुनाव हारे पनि राजिनामा नदिएको बताएका छन्।शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन हारेपछि आफूले राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई

भेटे पनि प्रधानमन्त्रीले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै राजीनामा नदिन आग्रह गरेकाले आफूले राजीनामा नदिएको स्पष्ट पारे।उनले अहिलेको सरकार चुनावी सरकार भएकाले नैतिकवान बनेर नै अर्को सरकारलाई सत्ता हस्तान्तरणपछि बिदा हुने बताए। उनले नैतिकताको विषय उठाएर राजीनामा दिँदा सरकारमा आउने चापको महत्वलाई हेरेर आफ्नो दायित्व पूरा गरेको बताए।

उनले भने, ‘चुनाव हारिसकेपछि राजिनामा नगरी किन बसेको भन्ने प्रश्न छ, यो नेपाली समाज र राजनीतिमा बहसको विषय छ। हामी नैतिकवान हुनुपर्छ त्यसमा कुनै बहस छैन। तर हामी चुनावी सरकारको रुपमा आएकाले हामीले अब बन्ने नयाँ सरकारलाई हस्तान्तरण गरेर मात्रै बिदा हुने हो। यो हाम्रो जिम्मेवारी हो। सबैले नैतिकता भनेर छोडेर हिँड्यो भने त्यो बीचमा पर्नसक्ने समस्यालाई हेरेर हामीले निर्णय लिनुपर्छ। अन्य बेलाको भए त्यसमा बहस हुन्थ्यो । हामीले राजिनामा दिएर हिँड्दा दायित्वबाट पन्छिएको जस्तो हुन्छ। मैले हारिसकेपछि राजिनामा दिन्छु भनेर प्रधानमन्त्रीलाई पनि भेटेको थिएँ। तर उहाँले चुनावी सरकारले नयाँ सरकारलाई हस्तान्तरण गरेर मात्रै बिदा हुने हो दायित्व पूरा गर्नुपर्छ भन्नेकुरा गरेपछि नै म बसेको हो। संविधानले पनि यही परिकल्पना गरेको छ।’

पर्यटन राजनीति