अस्थायी काठेपुलको भरमा कालीगण्डकी वारपार गर्नुपर्ने बाध्यता

म्याग्दी : बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानीदेखि अन्नपूर्ण गाउँपालिका ६  पाउद्वारको तातोपानी कुण्ड पुग्न कालीगण्डकी नदीमा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता छ।हिउँदमा मात्र प्रयोग गर्न सकिने यो काठेपुल पनि स्थानीय एकजनाले आफ्नो व्यक्तिगत लगानीमा निर्माण गरेका हुन्। देशमा तीन तहका सरकार भए पनि पुल निर्माणमा कसैले पनि चासो नदेखाएपछि स्थानीय युवा कुमार तिलिजाले व्यक्तिगत खर्चमा काठेपुल निर्माण गरेको बताए।

बर्खामा कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुने भएकोले तातोपानी कुण्डमा उपचारका लागि जाने बिरामी र पर्यटक नारच्याङको बाटो हुँदै एकघण्टा समय खर्चेर पाउद्धार तातोपानी कुण्डमा पुग्छन्।पुल नहुँदा नारच्याङ पुगेर करिब एक घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटाउन कालीगण्डकीमा अस्थायी पुल निर्माण गरिएको तिलिजाले जानकारी दिए।

‘यो कुण्डमा नियमित रूपमा स्नान गर्ने विरामी र पर्यटक समेत आउने गर्छन, तर बाटो घुमाउरो हुँदा आवत जावतमा झञ्झट भएकाले हिउँदयामको लागि मात्रै भए पनि अस्थायी साँघु बनाएका हौँ’ उनले भने। पुल बनाउन काठका फ्ल्याक,बाँस र ग्यावियन जाली प्रयोग गरिएको छ। वारपार गर्दा सुरक्षाका लागि पुलको दायाँबायाँ काठकै रेलिङ हालिएको छ। पक्की झोलुङ्गे पुल नहुँदा वर्षेनी यहाँका स्थानीयले हिउँदयामका लागि मात्रै अस्थायी रूपमा काठको पुल बनाउने गर्छन्।

कालिगण्डकी नदीमा पुल नहुँदा कुण्डमा स्नान गर्न आउने पर्यटक र बिरामी नारच्याङको पुल तरेर घुमाउरो बाटो प्रयोग गरेर आउनुपर्ने भएकाले केही महिनाका लागि भए पनि यो पुलले राहत दिएको स्थानीयबासीको भनाइ छ। अस्थायी काठे साँघु बनेसँगै कुण्डमा स्नान गर्न आउने बिरामी अवस्थाका वृद्धवृद्धा र पर्यटकलाई निकै सहज भएको छ। पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन दिएपनि अहिलेसम्म रकम नपाएको तिजिलाले बताए। कुण्डको व्यवस्थापनको जिम्मा समेत लिएका तिलिजाले पुल बनाइदिएपछि ४५ मिनेटको बाटो छोटिएर ५ मिनेटमै कुण्डमा पुग्न सकिने सुविधा भएको स्थानीय रामदेवी पुनले बताइन्। यता पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा पुल बनाउन योजना छनोट भएको र कार्यान्वयनको चरणमा रहेको जनाएको छ।

समाचार समाज