एमालेबाट नयाँलाई अवसर

काठमाडौं : नेकपा एमालेबाट चार जना मन्त्रीले सोमबार शपथ लिने भएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार जना मन्त्रीले सोमबारै शपथ लिने भएका हुन्। पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने तयारी छ। यसपटक एमालेले पौडेलबाहेक अन्य तीन जना नयाँ सांसदलाई मन्त्री बनाएको हो। पौडेलले रुपन्देही-२ बाट निर्वाचन जितेका थिए। उनले २०७४ मा पनि सोही क्षेत्रबाट चुनाव जितेका हुन्। साथै साह मंसिर ४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट विजयी भएकी हुन्। भण्डारीले बैतडीबाट चुनाव जितेका हुन्। उनले लगातार तेस्रो पटक सोही क्षेत्रबाट चुनाव जित्दै आएका थिए। राईले धनकुटाबाट लगातार दुई पटक चुनाव जितेका छन्। उनले २०७४ र २०७९ मा चुनाव जितेका हुन्। 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य दुई जना उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ लिने जनाइएको छ।माओवादीका नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अब्दुल खानले शपथ लिने भएका छन्। श्रेष्ठले परराष्ट्र, लामिछानेले गृह र खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउने छन्। 

मुख्य समाचार राजनीति समाचार