गठबन्धनमा मुछिँदा काँग्रेसको हत्या : शेखर

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन प्रकरणमा मुछिँदा कांग्रेसजनको राजनीतिक हत्या भएको बताएका छन्। तेस्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाएर प्रधानमन्त्री बन्न सफल भएको भन्दै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोइरालाले बधाई दिएका छन्।

कोइरालाले काँग्रेस नेतृत्वका कारण संसद्को सबैभन्दा ठूलो राजनीतिक शक्ति भएर पनि विपक्षमा खुम्चिनुपरेको भन्दै नेता शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन्। संविधानको रक्षा र समृद्धिको यात्राका लागि गठित देउवा नेतृत्वको गठबन्धनले निरन्तरता पाउन नसक्नुको चित्तबुझ्दो जवाफ आमजनतालाई देउवाले दिनुपर्ने समेत उनले माग गरेका छन्।

काँग्रेसले ठूलो मूल्य चुकाएर पाँचदलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गर्दैगर्दा पार्टीभित्र गठबन्धनप्रति शंका गरेर केही नेताहरूले आवाज उठाए पनि त्यसलाई दबाउन खोजिएको भन्दै उनले असन्तुष्टि समेत पोखेका छन्।

जनतासँग संवाद शुरु गरेर नयाँ काँग्रेस निर्माणको महाभियानमा जुट्नुको विकल्प नरहेको भन्दै कोइरालाले सत्ता गुमे पनि काँग्रेसको शक्ति नगुमेको दाबी गरे।

मुख्य समाचार राजनीति समाचार