हेटौंडामा १२ वर्षीय बालकको हत्या गर्ने पक्राउ

हेटौंडा – हेटौंडामा एक बालकको हात बाँधेर झुण्ड्याएर हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१६ बाबियोडाँडा बस्ने ३८ वर्षीय आईत सिं भोम्जन रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

गत पुस १० गते हेटौंडा उपमहानगरपालिका–१६ का १२ वर्षीय मुस्कान भन्ने सुजन थिङ घर नजिकैको जरुङगे सामुदायिक वनमा संकास्पद रुपमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार थिङको हात शरीरको पछाडी पट्टी कपडाको सलले बाँधेर क्यामुनाको रुखमा सेतो र रातो कपडाको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको थियो ।

घटनाको जानकारी पाउँना साथ प्रवक्ता कार्कीको कमाण्डमा तालिम प्राप्त कुकुर सहितको टोली घटनास्थलमा पुगेको थियो । घटनामा संलग्न हुन सक्ने आशंकामा ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य सुरु गरिएका थियो ।

प्रहरी उपरीक्षक बामदेव गौतम सहितको टोली पुनः घटनास्थलमा गएर स्थानिय मानिसहरुसंग घटना सम्बन्धमा सोधपुछ र थप अनुसन्धान गर्दा भोम्जनमाथी शंका लागेर उनलाई आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।

भोम्जनलाई घटनाको बारेमा सोधपुछ गर्ने क्रममा ‘मुस्कान भन्ने सुजन थिङलाई मैले नै कर्तब्य गरी मारी जरुङ वन समितिको भवनको पुर्ब पट्टीको खोल्सामा रहेको क्यामुनाको रुखमा झुण्ड्याएको’ भनि स्वीकार गरेका प्रहरीको दाबी छ ।

यही पुस १३ गते भोम्जनलाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमती लिएर थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

समाज