एकीकृत समाजवादीको स्थायी समिति बैठक आज

काठमाडौं : सरकारमा सहभागिताको विषयमा टुंगो लगाउन नेकपा एकीकृत समाजवादीको शनिबार स्थायी समितिको बैठक बस्दैछ।अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा र पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्नेछ।

यस्तै आगामी रणनीति तथा कार्ययोजना र पार्टीले सरकारमा सहभागी हुने वा नहुने तथा सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।पार्टीले पछिल्लो समय जनवर्गीय संगठनका साथै प्रवासमा रहेका पार्टी निकट संगठन र शुभेच्छुकसँग सुझाव लिएको जनाएको छ। केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने र संगठन सुदृढीकरणमा लाग्नुपर्ने जस्ता सुझाव दिएको खतिवडाले जानकारी दिए।

राजनीति समाचार