दक्षिण ललितपुरको केन्द्र- गोटिखेल,सानो ठाउँ धेरै सुविधा

दक्षिण ललितपुरको केन्द्र हो गोटिखेल , जुन माहाङ्काल गाउँपालिकाको वडा नं ३ मा रहेको छ । गोटिखेल बजार हेर्दा असाध्यै सानो ठाउँमा रहेको छ तर सुविधाको हिसाबले यहाँ धेरै रहेको छ ।

माहाङ्काल गाउँपालिकाको वडा नं ३ को कार्यालय देखि गाउँपालिकाको कार्यालय पनि यहीँ रहेकोे छ । हाल भाडाको घरमा रहेको गाउँपालिका कार्यालय अब भने छिट्टै सुविधा सम्पन्न आफ्नै भवनमा सर्ने तयारीमा रहेको छ । कम्पाउण्ड भित्र निर्माणको अन्तिम चरणमा रहेको गाउँपालिकाको भवन झट्ट हेर्दा निकै आकर्षक खालको बनिरहेको छ । तीन तला रहेको सो भवनमा लिफ्टको समेत ब्यवस्था रहेको छ ।

तत्कालीन ६ वटा गाविसहरु गाभिएर बनेको माहाङ्काल गाउँपालिकामा तत्कालिन गाविसहरु बुखेल ,मानिखेल, गोटिखेल, कालेश्वर , चन्दनपुर , ठुला दुर्लुङ रहेका छन् । इलाका प्रशासन कार्यालय समेत रहेकोे गोटिखेलबाट नेपाली नागरिकता समेत जारी हुने गरेको छ । जहाँ माहाङ्काल गाउँपालिकाको अलावा बागमती गाउँपालिका वडा नं ७ गिम्दी र कोन्जोसोम गाउँपालिका वडा नं ३ संखु वासीहरुले समेत सोही ठाउँबाट नागरिकता पाउँछन् ।

गोटिखेल बजार सानो भएपनि त्यहाँ मालपोत, नापी, इलाका प्रहरी, इलाका वन, स्वास्थ्य, कृषि, पशु कार्यालय लगायतका सरकारी कार्यालयहरु रहेका छन् । बित्तीय कारोबारका लागी बैंक तथा सहकारीहरु रहेका छन् ।

धार्मिक एवम् पर्यटन प्रवर्द्धनका लागि मठ मन्दिर , रिसोर्ट छन् । नेपालको चर्चित धामहरु मध्ये बैतर्नीधाम यहि रहेको छ ।

शैक्षिक क्षेत्रका लागि क्याम्पस,सरकारी बिद्यालय तथा माध्यमिक तह सम्मको बोर्डिङ स्कुल समेत रहेका छन् ।

फर्निचर उद्योग, काठे तेल मिल, दुग्ध,बचत लगायतका सहकारी , मोटरसाइकल ग्यारेज , सुन पसल लगायत विभिन्न प्रकारका ब्यवसायिक पसलहरु पनि गोटिखेलमा रहेका छन् ।

फलफूलमा सुन्तला , जुनार लगायत यहाँ तरकारी तथा खाद्यान्न अन्तर्गत धान , मकै, फापर लगायत तेलका लागि तोरीको राम्रै उत्पादन हुने स्थानीय होमप्रसाद दाहाल बताउँछन् ।

अग्ला-अग्ला पहाडको खोचमा रहेको सानो गोटिखेल बजार सुविधा कै कारण जग्गाको मूल्य आनाको झण्डै दशलाख सम्म कारोबार हुन थालेको स्थानीय बताउँछन् ।

मुख्य समाचार रोचक समाज