पैतृक सम्पत्ति बेचेर ऋण तिरेँ, बैंक ब्यालेन्स एक रुपैयाँ पनि छैन -उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं :  उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायण काजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन्।नेकपा माओवादी केन्द्रका नेता समेत रहेका श्रेष्ठको सम्मानमा उनको पारिवारिक सम्बन्ध जोडिएको मेयरसिंह जौवारी प्रतिष्ठानले शनिवार आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै आफूलाई पैसाको कुनै लालच नभएको बताएका हुन्।

उनले पद पावरका लागि भन्दा पनि देशमा सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको सुनाए।नेता श्रेष्ठ हालसम्म पनि अविवाहित छन्। उनले आफू ‘सिंगल’ नै रहेको भन्दै भएको पैतृक सम्पत्ति समेत बेचेर ऋण तिरेको दाबी गरे। उनले आफूसँग अरू कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए। आफ्नो नाममा बैंक ब्यालेन्स पनि नभएको उनको कथन छ।‘राष्ट्रियसभा सदस्य भएकाले त्यही राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ। अरू कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन’‚  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने,  ‘न घर छ,  न जग्गा छ,  भएको पैतृक सम्पत्ति पनि बेचेर ऋण तिरेँ, बाँकी पैसा पार्टीकै लागि दिएको छु।’

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारहरूको भूमिका पनि महत्त्वपूर्ण रहेको उनले बताए। ‘तपाईंहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन,  तपाईंहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो’ उनले भने, ‘ऐन, नियमविपरीत तपाईंहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त, म अहिले यहाँ छु।’कार्यक्रममा प्रतिष्ठानका सचिव समेत रहेका मनोबाबु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म पनि नेता श्रेष्ठको भूमिका सधैँ केन्द्रमा रहेको बताए। नेता श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमुखी हुनेमा आफू विश्वस्त रहेको उनले सुनाए।

मुख्य समाचार राजनीति समाचार