डेरी उद्योगले आफूखुसी बढाएको मूल्यमा चौतर्फी विरोध

डेरी उद्योग संघले दूधको मूल्य मनोमानी रूपमा बढाएपछि चौतर्फी विरोध सुरु भएको छ । डेरी उद्योग संघको सक्रियतामा बढेको दूधको मूल्यमा नेपाल डेरी एसोसिएसन, दुग्ध विकास संस्थान, उपभोक्ता अधिकारकर्मीदेखि किसानसम्बद्ध केन्द्रीय दुग्ध सहकारी संघसम्मले आपत्ति जनाएका छन् ।

पर्याप्त अध्ययनबिनै गरिएको मूल्यवृद्धिले अन्ततः किसानलाई नै मार पर्ने उनीहरूको भनाइ छ । किसानको लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्ति अध्ययन नगरी गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गराउनसमेत उनीहरूको आग्रह छ ।

‘डेरी उद्योगीहरूले एकलौटी ढंगले उद्योग निहित हितलाई शिरोपर गर्दै मूल्यवृद्धि गरेका छन् । मनोमानी ढंगबाट किसानको लागत मूल्यसमेत सम्बोधन नगरी निर्धारित मूल्यवृद्धिमा ध्यानाकर्षण भएको छ,’ केन्द्रीय दुग्ध सहकारी संघ, दुग्ध विकास संस्थान र नेपाल डेरी एसोसिएसनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय दुग्ध सहकारी संघको २८ औं साधारणसभाबाट मेचीदेखि महाकालीसम्मका किसानका दूधको मूल्य बढाउने निर्णय भएको छ । अध्ययनका आधारमा दूधको मूल्य अविलम्ब वृद्धि गर्ने अवस्थामा समन्वय नगरी केही डेरी उद्योगीले गरेको मूल्यवृद्धिले किसानलाई दीर्घकालीन असर गर्नेछ ।’ संघमा १८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्था आबद्ध छन् । ती सहकारीबाट प्रतिदिन १० लाख लिटर दूध संकलन हुँदै आएको छ ।

डेरीसम्बद्ध निकायसँगै उपभोक्ता अधिकारीकर्मीहरूले पनि मूल्यवृद्धिको चर्को विरोध गरेका छन् । अध्ययनबिनै आफूखुसी मूल्य बढाउने उद्योगलाई कडा कारबाही गर्नुपर्ने उनीहरूको माग छ । गैरकानुनी रूपमा दूधको मूल्यवृद्धि गर्नेमाथि कडा कारबाही हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताए । कानुन हातमा लिएर मनपरी रूपमा अनुचित व्यावसायिक लाभका लागि निर्धारित मूल्य फिर्ता हुनुपर्ने उनको भनाइ छ ।

‘डेरी उद्योगीले दूधमा बढाएको मूल्य एकपक्षीय’
‘दूध जस्तो अत्यावश्यक वस्तुमा उपभोक्तालाई अत्यन्त भार पर्ने गरी नेपाल डेरी उद्योग संघ र संघमा आबद्ध डेरी उद्योगहरूले प्रतिलिटर १४ रुपैयाँ बढाएकामा मञ्चको ध्यानाकर्षण भएको छ,’ मञ्चका महासचिवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत माघमा पनि अनुचित तरिकाबाट दूधको मूल्य बढ्यो । अहिले एक वर्ष नबित्दै फेरि मूल्य बढ्नु भनेको उपभोक्ताप्रतिको शोषण हो । दैनिक उपभोग्य वस्तुमा एक्कासि अनुचित रूपमा गरिएको मूल्यवृद्धि र राज्यका निकाय बेखबर हुनु सुशासनविरुद्ध हो ।’

दूधमा भएको मूल्यवृद्धिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमा उजुरीसमेत परेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जनाए । गैरकानुनी रूपमा दूधको मूल्य बढाउने डेरी उद्योगलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई–दुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न पाइन्छ । यसअघि ०७८ माघ २८ मा सरकारले दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्य बढाएको थियो । अहिले अध्ययनबिनै डेरी उद्योग संघले मूल्यवृद्धि गरेको हो । संघले बढेको मूल्य शनिबारदेखि नै कार्यान्वयन गरिसकेको छ । यसअघि आधा लिटर दूधको मूल्य ४३ रुपैयाँ थियो । शनिबारदेखि ५० रुपैयाँ तोकिएको छ ।

दूधमा गरिएको अस्वाभाविक मूल्यवृद्धि घटाउन दुग्ध विकास बोर्डले निर्देशनसमेत दिएको छ । वृद्धि गरिएको दूधको मूल्यले किसानको अवस्था उखु किसानसरह हुने बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले बताए । ‘दूधको आपूर्ति कम हुँदा मूल्य बढाइएको छ, एकै पटक ह्वात्तै मूल्य बढाएर फेरि ह्वात्तै घटाउँदा तिनको अवस्था उखु किसानको जस्तै हुन्छ । यसले किसानलाई पलायन बनाउन सक्छ । डेरी उद्योगको निर्णय अवैज्ञानिक छ,’ यादवले भने, ‘त्यसैले बढेको मूल्य घटाउन भनेका छौं ।’

केही डेरी उद्योगले दूधको मूल्यवृद्धि गरेको विषयमा आइतबार सचिवको उपस्थितिमा सरोकारवाला निकायहरूबीच बैठक बसेको थियो । बैठकमा दूधको बढाइएको मूल्य स्थगन गर्न अनुरोध गरिएको बोर्डले डेरी उद्योग, डेरी एसोसिएसन र दुग्ध विकास संस्थान ९डीडीसी० लाई पठाएको पत्रमा उल्लेख छ । ‘दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिको समेत वैज्ञानिक रूपमा शीघ्र अध्ययन गरी मूल्य समायोजन गर्ने सहमति भएको छ,’ पत्रमा भनिएको छ । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले भने बोर्डले मूल्य घटाउन भने पनि घटाउने सहमति नभएको दाबी गरे । ‘महँगोमा किनेको दूधको मूल्य घटाउन सक्दैनौं,’ उनले भने ।

कृषि समाचार समाचार