व्यवसायीलाई रातो कार्पेटले स्वागत गर्न तयार छौं तर कालोबजारी सहँदैनौं : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरूलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताए।उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिवद्धतासमेत व्यक्त गरे। गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने पनि बताए। उनले उद्योगी व्यवसायीलाई आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गरे।

गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरूले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने पनि आश्वासन दिएका छन्। उद्योगी व्यवसायीहरूले सही ढङ्गले स्वच्छ प्रतिस्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नती हुने मन्त्री लामिछानेको भनाइ छ।‘अगाडि कस्तो निर्णय भएको र कस्तो आँखाले हेरियो थाहा छैन। तर हाम्रो तर्फबाट तपाईंहरूलाई रेड कार्पेट छ । उद्योग,व्यवसायको सुरक्षा र उन्नतिको लागि गृहमन्त्रालयले गर्ने कुनै पनि कामले चुक्दैनौँ । सरकारले एउटा स्पेशल युनिट खडा गर्छ।’ उनले भने, ‘मन्त्रालयमा कुनै कामको लागि व्यवसायीहरूले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन । उद्योगी व्यवसायीहरूले मुलुकको राजश्व वृद्धि,व्यवसायी वृद्धिमा सही ढङ्गले समय खर्च गर्ने हो । अब उद्योगी व्यवसायीहरूले सरकारी कार्यालय,कार्यालय हाकिम र राजनीतिज्ञहरुकामा गएर समय खेर फाल्नु पर्दैन ।’ 

गृहमन्त्री लामिछानेले कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कालोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतीको विषय भएको बताए।उनले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने पनि बताए । कालोबजारी तथा कानुन विपरीतका काममा कुनै पनि राजनीतिक दबाब आए कारबाही गर्ने लामिछानेको चेतावनी छ ।m

चेम्बरले गृह मन्त्रीलाई कालोबजारी,सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।tt

राजनीति समाचार