राष्ट्रपतिको दौडमा डोरमणीको ‘इन्ट्री’

हेटौंडा : नेपालको राजनीतिमा नयाँ समीकरण बनेसँगै पदीय भागवण्डालाई लेखाजोखा पनि चलिरहेको छ।नेकपा एमालेको नेतृत्वमा नयाँ समिकरण बनेसँगै ठुलादेखि साना पदहरु भागवण्डा गर्ने र कुन पदमा कसले बाजी मार्ला भन्ने लेखाजोखा चलिरहेको हो।  ७ दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन्। नयाँ गठबन्धनको नेतृत्व गरेको एमाले संसदको दोस्रो र गठबन्धनको पहिलो दल हो। 

३२ सिट रहेको माओवादीलाई प्रधानमन्त्रीको चावी बुझाएको एमालेले देशको सबैभन्दा ठुलो पद राष्ट्रपति पाउने निश्चित छ। तर, एमालेले कसलाई राष्ट्रपति बनाउला? भन्ने चाँसो यतिबेला सबैलाई छ। राष्ट्रपति पद एमालेले पाउने निश्चित भएका बेलामा धेरैको नाम चर्चा आइरहेको छ। यसबीचमा बुधबारबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको नाम पनि राष्ट्रपति बन्न सक्ने दावेदारको रुपमा चर्चामा आएको छ। साढे ३ वर्ष बागमती प्रदेश सरकारको नेतृत्व गरेका पौडेल मकवानपुरका हुन्। पौडेललाई राष्ट्रपतिको रुपमा वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीले अघि सारेको बताइएको छ। भण्डारीनिकट पौडेल यसअघि ०७४ मा पनि उनकै कारण अप्रत्याशित रुपमा प्रदेशको मुख्यमन्त्री बनेका माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन गरिसक्नु पर्ने हुँदा राष्ट्रपतिको टिकट फुत्क्याउन एमालेका नेताहरुको भागदौड चलिरहेको बेलामा डोरमणीको ईन्ट्रिले अर्को तरंग ल्याएको छ। पार्टीमा पौडेल भन्दा शीर्ष नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु राष्ट्रपतिको दौडमा छन्। थिए। 

एमाले अध्यक्ष ओलीको प्रिय पात्र पूर्वसभामुख नेम्वाङ एमालेबाट राष्ट्रपतिको मुख्य दावेदारको रुपमा देखिएका छन्।  शालिन नेताको छवि बनाएका नेम्वाङ राष्ट्रपतिको बलिया दावेदार भएपनि उनी राष्ट्रपति बन्ने सम्भावना पनि पुर्ण रुपमा देखिदैन। 

उनी ४ मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेम्वाङ राष्ट्रपति बन्दा उनले प्रतिनिधिसभा सदस्य पद त्याग्नुपर्ने हुन्छ। यसो हुँदा संसदमा एमालेले एक सिट गुमाउछ। 

त्यसैले एमालेभित्रकै एक पक्षले नेम्वाङलाई राजिनामा गराएर एक सिट घटाउनु नहुने तर्क गरिरहेका छन्। अर्का दावेर वरिष्ठ उपाध्यक्ष पोखरेलको नाममा सर्वसम्मत रुपमा सहमति जुट्न नसक्ने एमालेकै नेताहरु बताउँछन् भने शाक्यलाई अध्यक्ष ओलीले पूर्ण रुपमा विश्वास गर्दैनन्। उसो त, शाक्यलाई राष्ट्रपति बन्न नदिन वर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई अघि सारेको चर्चा पनि छ।०७४ मा पनि पौडेल भण्डारीकै कारण मुख्यमन्त्री बनेका थिए। पौडेल आफूले नै अपेक्षा नगरेको अवस्थामा संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए। संसदीय दलको नेतामा उम्मेदवारी दिने समय सकिन केही मिनेट मात्रै बाँकी रहेका बेला भण्डारीको दवावको कारण ओलीले निर्देशन दिएपछि संसदीय दलको नेतामा उम्मेदवारी दिदै मुख्यमन्त्री बनेका थिए। 

वर्तमान राष्ट्रपति भण्डारी र एमाले उपाध्यक्ष शाक्यबीच पुरानो दुस्मनी छ। धेरै वर्ष पहिलेबाट एउटै पार्टीमा भए पनि उनीहरुको सम्बन्ध राम्रो थिएन।  त्यसैले शाक्यलाई राष्ट्रपति बनाउनुपर्ने अवस्था आए पौडेललाई सो अवसर दिने पक्षमा भण्डारी छिन्। भण्डारी एमाले अध्यक्ष ओलीको निकट र प्रिय पात्र भएकोले उनको प्रस्तावलाई ओलीलाई अस्वीकार गर्न नसक्ने एमाले नेताहरु बताउँछन्। पौडेलप्रति ओलीमा रहेको सकारात्मक भावनाकै कारण राष्ट्रपति पदका सन्दर्भमा ओलीले पौडेलसँग संवाद पनि गरिसकेको एमाले स्रोतको दाबी छ। 

अहिलेको गठबन्धनमा भएको सहमति कार्यान्वयन भएमा ओली साढे दुई वर्षपछि प्रधानमन्त्री बन्नेछन्। त्यतिबेला उनलाई काम गर्न उनको कुरालाई ‘एसम्यान’ गर्ने राष्ट्रपति आवश्यक पर्छ। उसो, उनी सरकार बाहिर हुँदा पनि राष्ट्रपति भण्डारीमार्फत विभिन्न विधेयकमा राजनीति गरेका थिए। त्यसैले पनि ओली आफूले भनेको कुरालाई सहजै मान्ने ‘एसम्यान’ लाई राष्ट्रपति बनाउन चाहान्छन्। जुन उनले पौडेलमा देखेका छन्। पौडेललाई वर्तमान राष्ट्रपति भण्डारीले नै समर्थन गरेको खण्डमा नेपालको चौथो राष्ट्रपति बन्न पौडेलको सम्भावना बढि देखिन्छ। 

तपाई राष्ट्रपति बन्ने दौडमा हो भन्ने प्रश्नमा पौडेलले आफूभन्दा अग्रज नेताहरु थुप्रै भएको भन्दै आफ्नो लेवलसम्म त्यो कुरा आइनपुगेको बताए।  यद्यपि उनले चर्चा भने भइरहेको स्वीकार गरे। प्रष्ट रुपमा कुरा खोल्न नचाहेका पौडेलले भने ‘बाहिर चर्चा भइरहेको छ। पार्टीमा अरु पनि हुनुहुन्छ, मेरो लेवलसम्म यो कुरा आइसकेको छैन।’ राष्ट्रपति बन्न यहाँलाई शुभकामना छ भन्दा पौडेलले धन्यावद् भन्दै स्विकार भने गरे। यसले उनी राष्ट्रपति बन्ने दौडमा रहेको भन्ने स्पष्ट हुन्छ। पौडेल ३ दिनदेखि संघीय राजधानी काठमाडौंमा नै छन्। 

उनीसँगै काठमाडौंमा रहेका उनको पूर्व राजनीतिक सल्लाहकार समेत रहेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया पनि राष्ट्रपतिमा पौडेलको नाम चर्चा भइरहेको बताउँछन्।

मुख्य समाचार राजनीति समाचार