ओलीप्रति नेपालको टिप्पणी : आत्मालोचना गरे होलान् भनेको झन् गर्जिएको देख्दा अचम्म लाग्यो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको दाबी गरेका छन्। मंगलबार प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन पेश गरेको प्रस्तावमाथि बोल्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानको आफूखुसी व्याख्या गर्न नपाइने बताए। 

एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेपालले अझै पनि संसद विघटन गर्न पाइने तर्क गरिरहेको भन्दै संविधानको रक्षाप्रति गठबन्धनको धारणा माग गरे।‘सरकारको संविधानप्रतिको प्रतिवद्धता के हो? संसद विघटन गर्न पाइन्छ भन्ने मान्यता गठबन्धन दलको हो?’ ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘के यो ब्रिटेन हो ? के यो भारत हो? के यो पुरानो नेपाल हो? संसद विघटनमा आत्मालोचना गर्लान् भनेको त यहाँ आएर झन् गर्जिएको देख्दा अचम्म पो लाग्यो त।’

अर्को सरकार बनाउने विकल्प हुन्जेल कसैको लहडको भरमा संसद विघटन गर्न नपाइने उनको तर्क छ। ’प्रधानमन्त्री पद जोगाउनै पर्यो भन्ने होला भनेको त,अझै पो ठूलो स्वर छ। तर हामी अब त्यस्तो गोलचक्करमा नफसौँ। नेपालले थपे, प्रधानमन्त्रीलाई आफूखुसी संसद विघटन गर्ने अधिकार छैन। सर्वोच्च अदालतले भनिसकेपछि पनि अझै स्वर ठूलो गर्नुको अर्थ छैन।’ओलीको संसद विघटन गलत थियो र त्यो प्रतिगामी कदम नै हो भन्दै नेपालले थपे, ‘महसुस त हुनुपर्ने हो अझै महसुस नै छैन।’

मुख्य समाचार राजनीति समाचार