पदमुक्त भइसकेकी मन्त्रीको गाडी नम्बर प्लेट ‘मोडिफाइ’, सरकारी गाडी चढेर बिदामै ‘होम टु पार्टी अफिस’

वाग्मती प्रदेशमा नयाँ सरकार गठन भएसँगै पुराना मन्त्रीहरु पदमुक्त भइसके। राजेन्द्र पाण्डेले सरकार छाडेको दिन गन्ने हो भने चार दिन पुग्यो सरकार मन्त्रीहरु निवर्तमान बनेको ।

सोमवार शलिकराम जमरकट्टेलले नयाँ मुख्यमन्त्रीका रुपमा वाग्मतीको बागडोर सम्हालिसकेका छन् । नयाँ सरकार आएसँगै पूर्ववर्ती सरकारका मन्त्रीहरुले सरकारी सेवासुविधा छाड्नुपर्ने हुन्छ । तर पाण्डे नेतृत्वको सरकारमा मन्त्री रहेकी कुमारी मोक्तान भने सरकारी गाडीमै सरर हुँइकिरहेकी छिन् । अझ नम्बर प्लेट ‘मोडिफाइ’ गरेर। उनी मन्त्री हुँदा प्रयोग हुने गाडी नम्बर हो – बागमती प्रदेश ३००१ झ ००७७। मन्त्री हुँदा रातो र निलो ब्याकग्राउन्ड भएको नम्बर प्लेटलाई अहिले सेतो बनाइएको छ। नम्बर उही ।

यही सवारी हुँदै प्रदेशमा सामाजिक विकास मन्त्री रहेकी मोक्तान बुधवार पार्टी कार्यालय पुगिन्। बिहान ११ बजे नै उनी पार्टी कार्यालय घाम ताप्दै थिइन् । वाग्मती प्रदेशमा आफ्नो पार्टीको नेतृत्व पाएपछि त्यही आडमा उनले आफ्ना कार्यकाल सकिँदा पनि सरकारी गाडीमा घरदेखि पार्टी कार्यालय, पार्टी कार्यालयदेखि घरसम्म पुगेर कार्यकर्ताहरुसँग गफ गर्न व्यस्त छिन् ।

बुधवार सार्वजनिक बिदाको दिन हो । सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिएको हो । एक त मन्त्रालयबाट बिदा लिइसकेकी उनले सरकारी गाडीको प्रयोग गरिरहेकी छिन् भने अर्को बिदाको दिन सरकारी नम्बर प्लेटको गाडीको प्रयोग । उनले यो प्रवृत्तिले पूर्वमन्त्रीहरु लज्जित बन्नुपरेको निवर्तमान मन्त्रीहरु नै बताउँछन् ।

राजनीति समाचार