मनहरी–९ ज्यामिरे भलादमी चोकमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ठक्कर दिने सवारी फरार

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे भलादमी चोकमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार अज्ञात सवारीले ना ३९ प १४३९ नम्बरको स्कुटरलाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने ३२ वर्षीय धर्मराज मोक्तान, सोही स्थान बस्ने मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ रहेको प्रवक्ता कार्कीले बताए ।

कार्कीका अनुसार शुक्रबार बिहान अपरिचित सवारीको ठक्करबाट क्षतिग्रस्त स्कुटरसंगै तीन जना पुरुषहरु गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनिहरुलाई उद्धार गरी चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा डाक्टर मृत घोषणा गरेको उनले बताए ।

प्रहरीले ठक्कर दिने सवारी पत्ता लगाउन सकेको छैन । स्थानीयहरुले ठक्कर दिने सवारीको पहिचान गरी नियन्त्रणमा लिन माग गर्दै राजमार्ग अवरुद्ध समेत गरेका थिए ।

ठक्कर दिने सवारीलाई यथाशिघ्र पत्ता लगाएर नियन्त्रणमा लिने निष्कर्ष सहित दुवैतर्फ बाटो संचालनमा आएको प्रवक्ता कार्कीले बताए । उनिहरुको खोजी कार्य भइरहेको उनको भनाई छ ।-praharkhabar

समाज