मधेश प्रदेश सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसका जंगीलालको उम्मेदवारी

जनकपुरधाम : मधेश प्रदेशसभाका सभामुखमा एमालेका रामचन्द्र मण्डल र कांग्रेसका जंगीलाल राय गरी दुईजनाको उम्मेदवारी परेको छ।माओवादीको प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमत सहित सत्तारुढ दलहरूको समर्थन छ भने आफ्नै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिएका छन्।

मण्डलका प्रस्तावकमा माओवादीका भरतप्रसाद साह र समर्थनमा लोसपाकी रानी शर्मा तिवारी, जसपाका रामआशिष यादव, जनमतका महेश प्रस्ताव यादव रहेका छन् भने रायका प्रस्तावक कांग्रेसकै कुमरकान्त झा र समर्थक जिवछी यादव रहेका छन्।सभामुखमा सत्तारुढका उम्मेदवार मण्डलले आफूसँग पाँच दल एमाले, जसपा, लोसपा, जनमत र माओवादी गरी कुल ७० सांसदको समर्थन रहेको बताए।

सभामुखमा उम्मेदवारी दिएको कांग्रेसले भने राजनीतिमा सधै जितका लागि मात्र उम्मेदवारी नहुने भन्दै हारमा पनि राजनीति र शक्ति हुने बताएको छ। २ गते सभामुख चुनिने कार्यतालिका रहेकाले दुई दिनमा जे पनि हुन सक्ने उनीहरूको तर्क छ।

माघ २ गते सभामुख चयनको कार्यतालिकाका साथै मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यतालिका समेत रहेको प्रदेशसभा सचिवालयले सचिव रञ्जित यादवले बताए।राजनीतिमा कुनै उथलपुथल नभए सत्तारुढ गठबन्धनका उम्मेदवार मण्डल सभामुख चुनिने निश्चितप्रायः छ।

प्रदेश समाचार मदेश प्रदेश राजनीति समाचार