३२ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक करिब ३३ अंकले बढेको छ।मंगलबार नेप्से परिसूचक ३२ दशमलव ७२ अंक बढेर २१८२ दशमलव ११ बिन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंकले बढेको छ ।

 मंगलबार कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता शेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रूपैयाँ बराबरको खरिदबिक्री भएको छ। आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको थियो।नेप्सेका १३ उपसमूहमध्ये मंगलबार बैंकिङ उपसमूहबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ दशमलव १२ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ५ दशमलव ०४ प्रतिशत, वित्त उपसमूहको परिसूचक यस दिन साढे ३ प्रतिशतभन्दा बढीले बढेको छ। तर यता बैंक उपसमूहको परिसूचक भने शून्य दशमलव ३२ प्रतिशत घटेको छ।

मंगलबार नेप्से परिसूचकमा वृद्धि भएसँगै ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा ग्रीन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज अपि पावर कम्पनीको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

अर्थ