कर्मचारी ऐन ल्याएर प्रदेशलाई कर्मचारी हस्तान्तरण गर्ने जिम्मेवारीमा मोदी

विराटनगर : विपन्न परिवारमा हुर्किएका अमनलाल मोदी २०४२ साल असोज ५ गते मोरङको बुढीगंगा गाउँपालिका तिलाठेमा जन्मिएका हुन्। ०५६ सालदेखि राजनीतिक यात्रा आरम्भ गरेका उनी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य, केन्द्रीय आयोजक समिति सदस्य बने।

अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बनेका उनी राजनीतिमा सक्रिय रहँदा जेल जीवन पनि गुजारेका थिए।

०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट निर्वाचित भएका मोदी अनिच्छाकै बीच ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए।०७४ को निर्वाचनमा पूर्वमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गर्दै सांसद बनेका थिए मोदी। यस पटक एमाले नेता विनोद ढकाललाई पराजित गर्दै संसद यात्रा तय गरेका उनी सामान्य प्रशासनमन्त्री बनेका छन्।

आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने निश्चित भएसँगै संघीय संरचनाअनुसार संघीय निजामती कर्मचारी ऐन ल्याएर प्रदेशलाई कर्मचारी हस्तान्तरण गर्नुपर्ने जिम्मा पनि थपिएको छ।

राजनीति समाचार