यती विमान दुर्घटना : अध्ययन गर्न आइपुग्यो एटीआर निर्माता कम्पनीको टोली

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ। 

एटीआर विमान निर्माता कम्पनीको ९ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए।

‘एटीआर निर्माता कम्पनीबाट काठमाडौं आएको ९ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ,’ उनले भने, ‘विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तरराष्ट्रिय चासो बढेको छ।’

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ।

आयोगका सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहेका छन्। हवाई मर्मत विज्ञ एकराजजङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। आयोगले जाँचको काम शुरु गरिसकेको छ।

विमान दुर्घटनामा परेका ७० जनाको शव प्राप्त भइसकेको छ भने बाँकी २ जनाको खोजी जारी छ। उद्धार गरिएका शवमध्ये २२ वटा शव सनाखत गरी पोखरामै आफन्तलाई बुझाइनेछ भने बाँकी शव नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइनेछ।

पर्यटन समाचार