पशुपतिनाथको दर्शन गरेपछि उपप्रधानमन्त्री लिङदेनले सम्हाले पद

नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री राजेन्द्र लिङदेनले पदभार ग्रहण गरेका छन्। उपप्रधानमन्त्रीको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार दिउँसो पदभार ग्रहण गरेका हुन्।

त्यस क्रममा उनले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारण गर्न ३ सदस्यीय कार्यदल बनाउने पहिलो निर्णय पनि गरे। विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको ५ वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्यदल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले बताए।उनले भने, ‘हामीले यो मन्त्रालयअन्तर्गत हुने कामहरूको बारेमा योजनाबद्ध ढंगले कामलाई अगाडि बढाउन विगतमा भएका कामको अनुभवसमेतलाई ध्यानमा राखेर ती सबैलाई अध्ययन गर्दै आगामी ५ वर्षमा ऊर्जा, जलस्रोत र सिँचाइको क्षेत्रमा योजनाबद्ध ढंगले प्राथमिकतामा राखेर गर्नुपर्ने काम के के हुन्? हाम्रा आवश्यक्ता र प्राथमिकताहरू निर्धारण गर्न र ५ वर्षे एउटा रणनीतिक योजना बनाउन एउटा ३ सदस्यीय कार्यदल बनाएका छौं‚ मन्त्रालयकै सहसचिवको नेतृत्वमा। एउटा योजना र रणनीति निर्माण गर्न यो कार्यदल गठन गरेका छौं।’

उपप्रधानमन्त्री लिङदेनसहित राप्रपाबाट मन्त्री भएका सबैले राष्ट्रपतिबाट शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेका थिए। उनले आफू सनातनी भएकाले पशुपतिनाथको दर्शन गरेर मन्त्रालय आएको बताए।

उनले भने‚ ‘​हामी सनातन धर्ममा विश्वास गर्ने मानिसले कुनै शुभकाम प्रारम्भ गर्दा अथवा शुभकाम गरिसकेपछि त्यसको स्थायित्वको कामना गर्न भगवान सम्झने, आफ्ना आस्था रहेका देवीदेवताकहाँ जाने परम्पराअन्तर्गत हामी सबैका आराध्यदेव पशुपतिनाथमा मन्त्रीको शपथपछि काम प्रारम्भ गर्नुअघि पशुपति दर्शन गर्न गएको हुँ।’

उनले सरकारमा सहभागी हुनु राप्रपाका लागि चुनौतीपूर्ण भएको पनि उल्लेख गरे। नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्ने दृढतासमेत व्यक्त गरे।

‘नेपालको सन्दर्भमा सरकारमा जानु, मन्त्री हुनु भनेको नै चुनौतीपूर्ण ठानिन्छ। किनकि त्यहाँ गएपछि नेता बिग्रिन्छ नै भनेर। नबिग्रेका मानिस त्यहाँ जानुहुन्न भन्ने मेरो शुभेच्छुकहरूले बिहानसम्म पनि सुझाव दिइरहनु भएको थियो। लाग्छ, यो चुनौतीपूर्ण छ तर म यसलाई अवसरमा परिणत गर्छु।’

मुख्य समाचार राजनीति समाचार