धवलशमशेरको चेतावनी : राप्रपालाई हेपेको सहेर बस्दैनौँ

 राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद डा. धवलशमशेर जबराले आफूहरूलाई नहेप्न चेतावनी दिएका छन्। 

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफूहरूलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसदमा नहेप्न चेतावनी दिएका हुन् ।

बुधबार नै प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त र शक्तिबहादुर बस्नेतले राप्रपाका मन्त्रीहरुले हिन्दुराष्ट्र, राजतन्त्र र संघीयताविरुद्ध अभिव्यक्तिहरु दिएको भन्दै आपत्ति जनाएका थिए। 

‘माननीय सदस्यजीले राप्रपामाथि प्रहार गर्नुभयो। राप्रपा सानो होला तर, हामी जनताको मनमा भिजेका छौं। नेपालमा हामी नेपालमा फेरि सनातन धर्म हिन्दु राष्ट्र कायम गर्न आएका छौं, हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं’, उनले भने, ‘यो कुरा संविधानले रोक्दैन । संविधानमा अपरिवर्तनीय बुँदा होइन, हामीले बोल्न पाउनुपर्छ।’

सांसद जबराले अहिलेको व्यवस्थास्वीकार नगर्ने भए जंगल जाने बताउँदै आफूहरुलाई हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्न जनताले मत दिएको बताए ।

 ‘यो व्यवस्था नमान्ने भएको भए हामी जंगल जान्थ्यौं, यही व्यवस्था र यही संविधानभित्र बसेर यो संविधानलाई हामीले बोकेका मूल्य मान्यताभित्र परिवर्तन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले भोट दिएर हामी आएका छौं। हामीलाई हेप्ने र होच्याउने काम यो सदनबाट आइन्दा फेरि नहोस्।’ 

मुख्य समाचार राजनीति