कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष चुनाव लागि अन्य दलसँग छलफल गर्ने

नेपाली का‌ंग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको चुनावका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीवार आज पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताउनु भयो । उहाँले संसद् भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताउनु भयो । उहाँले राष्ट्रिय सभा उपाध्यक्षको चुनाव र राष्ट्रपतिको चुनावका बारेमा अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा कांग्रेस रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आउँदाे २२ गते राष्ट्रिय सभाको उपाध्यक्षका निमित्त उम्मेदवारी दर्ता गर्ने र २३ गते चुनाव हुने कार्यक्रम रहेको छ । राष्ट्रिय सभाको उपाध्यक्षको चुनावको बारेमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेका छौँ । अर्को नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेका छौँ । संसद् भित्र व्यस्तता भएकाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको छ । राष्ट्रिय सभाको चुनाव र राष्ट्रपतिको चुनावका बारेमा पनि हामी अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा छौँ ।’

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले त्यहीअनुसार वार्ताका लागि बोलाए कांग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेण्डा बाहिरिएपछि कांग्रेस छलफलका लागि जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति भनिरहनुभएको छ । उहाँले सर्वदलीय बैठकमा पनि भन्नुभएको थियो । हामी सहमति गरेर जाने कुराको बारेमा छलफल गरेर जान तयार छौँ । उहाँको प्रस्ताव, एजेण्डा के हो भन्नेबारेमा सोचिरहनुभएको छ होला, हामी छलफलका लागि तयार छौँ, आफैँ पनि राष्ट्रपतिको चुनावका लागि तयारी गरिरहेका छौँ ।’

प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस राष्ट्रपतिको चुनावका लागि आन्तरिक तयारीमा जुटिसकेको बताउनु भयो ।

मुख्य समाचार राजनीति