नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ

धनगढी : प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी पक्राउ परेका छन्।

फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा बिहीबार पक्राउ परेका हुन्।

चौधरीलाई कोहलपुरमा समातिएको खबर आएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी अशोक सिंहले जानकारी दिए।अहिले उनलाई पक्राउ गरेर कैलाली ल्याउन लागेको प्रहरीले जनाएको छ।

चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनै प्रतिनिधि सभा सदस्य चौधरी विगत १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए।

उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो। तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए।

त्यसपछि उनी चुनाव लडेर अहिले प्रतिनिधि सभा सदस्य बनेका हुन्।

राजनीति समाचार