हेटौंडामा अल नेपाल नोभिस बक्सिङ हुने

हेटौंडा । हेटौंडामा अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगिता हुने भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा आउँदो फागुन १५ देखि २० गतेसम्म नोभिस बक्सिङ प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

नेपाल बक्सिङ संघको तत्वाधानमा हुन लागेको प्रतियोगितामा २०५९ बैशाख १ गतेदेखि २०६२ चैत्र ३० गतेसम्म जन्मिएका र बक्सिङ संघको आयोजनामा भएको औपचारिक प्रतियोगितामा सहभागिता नजनाएका नयाँ खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् ।

पुरुषतर्फ ९ र महिलातर्फ ८ वटा तौल समूहमा खेल सञ्चालन हुनेछ । प्रतियोगिताको प्रत्येक तौल समूहका विजेता, उपविजेता तथा सेमिफाइनलमा पराजित हुने दुईजना खेलाडीले क्रमशः नगद १०, ५ र ३ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले बक्सिङ ग्लोब्ससहित नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

हेटौंडा–४ स्थित कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिताको लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

खेलकुद समाज