राष्ट्रपति निर्वाचन : गठबन्धनमा खटपट, कांग्रेस सक्रिय

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनमा पनि खटपट सुरु भएको छ। गत पुस १० मा बनेको सात दलीय गठबन्धन अहिले पाँचवटामा सीमित भएको छ।

१२ सिट रहेको जनता समाजवादी पार्टी र चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी गठबन्धनबाट बाहिरिएका छन्। शुक्रबार गठबन्धनमा आबद्ध दलहरूको बैठकमा जसपा र नाउपासहित जनमत पार्टी पनि सहभागी भएनन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशका मुद्दामा चासो नदेखाएको, सरकारमा रहेका मन्त्रीहरूले नै आफूहरूले लडेर ल्याएको संघीयताविरुद्ध अभिव्यक्ति दिएकाले सरकारमा सहभागी नभएको जसपा बताउँछ। 

जसपा नेता राजकिशोर यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि आफूहरू सत्ता गठबन्धनमा नरहेको स्पष्ट पारे। संघीयताविरोधी दल राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी भएकाले आफूहरू गठबन्धनमा नरहने उनले स्पष्ट पारे। 

‘कस्तो गठबन्धन? गठबन्धन नै छैन। गठबन्धन भएको भए सुदूरपश्चिमको सरकार ढल्थ्यो? हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ। तर, अहिले हामी गठबन्धनमा छैनौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा रहुञ्जेल हामी यो गठबन्धनमा बस्न सम्भव छैन। संघीयताविरोधी दललाई सरकारमा राखेर कस्तो खालको संघीयता र गणतन्त्रको कुरा गर्ने हो?,’ नेता यादवले भने। 

राष्ट्रपतिमा माओवादी केन्द्रको लाइनमा जसपा पनि देखिन्छ। माओवादी केन्द्रले साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताउँदै आइरहेको छ। 

‘हामीले दलगत भन्दा पनि विवादरहित व्यक्तिको खोजी गरेका हौँ। राष्ट्रपतिमा सर्वस्वीकार्य साझा व्यक्ति, संविधानको रक्षा गर्ने व्यक्तिलाई समर्थन गर्छौं,’ उनले भने। 

जसपा राप्रपारहित गठबन्धनको पक्षमा देखिएको छ। अहिलेको अवस्थामा राप्रपारहित गठबन्धन गर्नेमा जसपा देखिन्छ। राष्ट्रपतिको निर्वाचनपछि बन्ने नयाँ समीकरणमा आफूहरूको समेत सहभागिता रहने जसपाका अर्का नेता बताउँछन्। 

‘राप्रपालाई स्वयं प्रधानमन्त्रीजीले समेत स्वीकार गर्नुभएको छैन।  उहाँ (प्रधानमन्त्री)ले केपी ओलीजीको दबाब रहेको बताइसक्नु भएको छ। त्यसकारण यो गठबन्धन धेरै टिक्दैन। राष्ट्रपतिको निर्वाचनसम्म नयाँ समीकरण बन्छ सोहीअनुसार हामी पनि सहभागी बन्छौं,’ जसपाका एक नेताले भने। 

गठबन्धनलाई संकटसाथ खोज्दै ओली

राष्ट्रपति निर्वाचनमा सत्तारूढ गठबन्धनलाई धक्का पुग्ने देखिएको छ। पुस १० गते एमालेले राष्ट्रपति पाउने सहमति भएको थियो। तर, पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिअनुसार साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने विषय निकालेपछि गठबन्धनभित्र विवाद सिर्जना भएको छ। 

शुक्रबार भएको सत्ता गठबन्धनको दलको बैठकमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नै ‘नोकझोंक’ भएको बताइएको छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा साझा व्यक्तिको खोजी हुनुपर्ने बताएपछि अध्यक्ष ओली जंगिएका थिए। 

ओलीले पुस १० गते नै सहमति भइसकेको विषयमा छलफल गर्नुपर्ने के छर? भन्दै जवाफ दिएका थिए। ओलीको भनाइमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा अध्यक्ष रवि लामिछानेले सहमति जनाएका थिए। तर, माओवादी केन्द्रले सर्वस्वीकार्य व्यक्ति नल्याए समर्थन नगर्ने रणनीति लिएको छ।

एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले संविधान मिच्ने काम गरेकाले माओवादी केन्द्र अब निर्विवादित व्यक्तिको खोजीमा जुटेको हो। 

‘अघिल्लो राष्ट्रपतिबाट दुईपटक संसद् विघटन गर्ने, अनावश्यक अध्यादेशहरूमा समर्थन गर्ने काम भएकाले यसपटक हामी सतर्क छौँ। निर्विवादित र सर्वस्वीकार्य व्यक्ति अघि सारे एमालेका उम्मेदवारलाई सहयोग गर्छौं। नत्र ओलीजीको खल्तीको कार्यकर्तालाई राष्ट्रपतिको रूपमा स्वीकार गर्न सकिँदैन,’ प्रचण्डनिकट एक नेताले भने। 

माओवादीले एमालेको उम्मेदवारलाई समर्थन गरे पनि अहिलेको अवस्थामा गठबन्धनलाई राष्ट्रपतिमा संकट देखापर्ने भएको छ। नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी मिल्दा २५ हजार २०० मत मात्रै हुन आउँछ। राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३ सय ९४ मतभार ल्याउनुपर्ने हुन्छ।

१२४२ मतभार रहेको जनमत पार्टीले राष्ट्रपतिमा सत्ता गठबन्धनलाई भोट दिनेमा आशंका उत्पन्न भएको छ। जनमत पार्टीबाट अब्दुल खान खानेपानीमन्त्री छन्। उद्योग मन्त्रालयमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्डले खानेपानीको जिम्मेवारी दिएपछि जनमत पार्टी असन्तुष्ट रहँदै आइरहेको छ। 

‘जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नभएकाले हिसाब गरेका थिएनौँ। गठबन्धनमा रहेको दलका हिसाबले केही आशा भने गरेका थियौँ। तर, त्यो पनि भएन,’ एमालेका एक सचिवालय सदस्यले भने।

एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनभित्रबाट साथ नपाउने आँकलन गर्न थालेका छन्। प्रधानमन्त्री प्रचण्डसँग खटपट भएपछि सरकारबाहिर रहेका दलहरूसँग समेत छलफल अगाडि बढाएका हुन्।

स्वयं माओवादी केन्द्रको पनि पूर्ण साथ नपाउने अवस्थाको आँकलन गरेर विपक्षी गठबन्धनका नेताहरूसँग पनि संवाद अगाडि बढाएका हुन्। त्यसको सुरूवात उनले लोकतान्त्रिक समाजवादी पार्टीबाट सुरू गरेका छन्। 

अध्यक्ष ओलीले शुक्रबार लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन्। उनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो दलको उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका हुन्। ओलीको आग्रहमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको लोसपा पनि चिढिएको छ। 

लोसपाले प्रधानमन्त्रीलाई मत दिएबापत मधेश प्रदेशमा दुईजना मन्त्री दिनुपर्ने सर्त राखेको थियो। उक्त सहमतिविपरीत मधेश प्रदेशमा सरकार विस्तार भएपछि लोसपा रूष्ट बन्दै आइरहेको छ। लोसपा  अध्यक्ष ठाकुरले ओलीसँगको भेटमा यसबारे गुनासो गरेका छन्। 

‘तपाईंले भनेकाले प्रचण्डलाई विश्वासको मत दियौँ। मधेश प्रदेशको सरकारमा दुई–तीनजना मन्त्रीलाई लैजानु छ त्यसको लागि पनि सहयोग चाहियो,’ ओलीसँग उनले भने। 

साथै लोसपाले राष्ट्रपतिमा एमालेबाट सर्वस्वीकार्य उम्मेदवारको खोजी गरेको छ। यसअघिको राष्ट्रपतिबाट संविधान मिच्ने काम भएकाले निर्विवादित साझा व्यक्तिको खोजीमा लोसपा पनि लागेको छ। 

अध्यक्ष ओलीले राष्ट्रपतिमा समर्थन खोजेपछि ठाकुरले पनि उम्मेदवारको खोजी गरे। ओलीले सहयोग गर्नुस् भनेपछि ठाकुरले सोधे, ‘राष्ट्रपतिमा को व्यक्तिलाई उठाउँदै हुनुहुन्छ?’ ओलीले ‘राम्रै उम्मेदवार दिन्छु’ भने। 

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरूङले गठबन्धनभित्र द्वन्द्व सिर्जना गरेर कांग्रेसले राष्ट्रिय सहमतिको चारो मात्र फालेको बताए। उनले कांग्रेस एमालेको व्यक्तिलाई राष्ट्रपतिबाट रोक्नका लागि रणनीतिक रूपमा लागेको आरोप लगाए। 

‘राष्ट्रपतिमा सहमतिको कुरा उठाएर कांग्रेसले प्रधानमन्त्रीलाई दिएको भोटको मूल्य दिनुपर्छ भनेको छ। कांग्रेसले आए आँप गए झटारो गरेको हो। पूर्वतिर त ढोक्सा हुँदोरहेछ। गण्डकीमा ढढिया भन्छ। कांग्रेसको राष्ट्रपतिको अलाप एमालेको व्यक्तिलाई राष्ट्रपति  रोक्नका लागि राष्ट्रिय सहमतिको चारो फालेको हो,’ उपमहासचिव गुरूङले भने।

ओली–प्रचण्ड नियमित भेटघाट, कांग्रेस पनि सक्रिय

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच नियमित भेटवार्ता हुन थालेका छन्। राष्ट्रपति निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसले पनि आफ्नो ‘रोल’ खेल्न थालेपछि दुई नेताबीचको भेटवार्ता बाक्लिएको हो।

माओवादी केन्द्रले राष्ट्रिय सहमतिको विषय निकालेसँगै एमाले थप सशंकित बन्दै गइरहेको छ। एमालेभित्र पुस १० को सहमति तोडेर माओवादीले नयाँ प्रस्ताव ल्याएपछि पुरानै गठबन्धन ब्यूँतिने होकि भन्ने भय पनि छ।

‘पुरानै गठबन्धन ब्युँतियो भने हामी (एमाले) पनि अप्ठ्यारोमा पर्छौं। प्रधानमन्त्रीका पछिल्ला हाउभाउले पनि उहाँले हामीसँग असहज महसुस गरिरहेको र कांग्रेससँग फिट महसुस गर्नुभएको देखाउँछ। यसले पनि हामीलाई थप सशंकित बनाएको छ,’ एमाले सचिवालय सदस्यले भने।

यता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई दूतको रूपमा बालुवाटार खटाएका छन्। थापाले दिन बिराएर प्रधानमन्त्रीसँग भेट गरिरहेको स्रोतले जानकारी दियो।

‘गगन थापाले प्रधानमन्त्रीज्यूसँग राष्ट्रपति निर्वाचन केन्द्रीत भएर छलफल गरिरहनुभएको छ। उहाँ (गगन थापा)ले पुरानै गठबन्धन ब्युँताउने गरी छलफल गरिरहनुभएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको बताए। प्रवक्ता महतले ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने र कांग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी गरे।

‘यो निर्वाचनमा कांग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो। तर, अनेकन चलखेल गरेर कांग्रेसलाई सत्ताभन्दा बाहिर पुर्‍याइएको छ,’ उनले भने, ‘तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ। छोटो समयमै यस्तो खटपट हुनु राम्रो होइन। यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको छ। यो अन्योललाई हामी चाँडै निकास दिने प्रयासमा छौं।’

मुख्य समाचार राजनीति समाचार