विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन बन्ने

विराटनगर : विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ।  भ्याटबाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवन निर्माण गरिने भएको हो।

 टर्मिनल भवनको सोमबार संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले शिलान्यास गरेका हुन्।टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ। गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरको छ।

तीन वर्षभित्र टर्मिनल भवन निर्माण ठेक्का केसी डाफे जेभीले लिएको छ। यसअघि २०२५ सालमा विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो। पुरानो टर्मिनल भवन भएको स्थानमा भने पार्किङस्थल बनाउने तयारी छ।

 विमानस्थलको टर्मिनल भवन प्रदेश १ को विकासमा कोशेढुङ्गा सावित हुने  मन्त्री राईले  बताएका छन्। उनले ठेकेदारलाई समयमा नै काम  सम्पन्न गर्नसमेत निर्देशन दिए।

 विमानस्थलको धावनमार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो। तर बजेट  अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा भयो। विमानस्थल विस्तारको योजना तत्काल अघि नबढेपनि टर्मिनल भवन भने निर्माण गर्न लागिएको हो .

यस्तै, विराटनगर विमानस्थलको धावनमार्ग पनि विस्तार गरिने भएको छ।

समाचार