कोरोना विरुद्धको नयाँ खोप पहिलोपटक नेपाल भित्रियो

नेपालमा कोरोना विरुद्धको नयाँ खोप भित्रिएको छ। सोमबार बिहान कतार एयरको उडानबाट ३ लाख ४५ हजार ६०० डोज पहिलोपटक फाइजरको वाई भ्यालेन्ट खोप आएको हो। कोभ्याक्स सुविधामार्फत आएको यो खोप नेपालमा पहिलोपटक  प्रयोगमा आउन लागेको हो। 

 स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाकी वरिष्ठ फार्मेसी अधिकृत निषा पराजुलीका अनुसार आएको यो खोप हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिने र मागअनुसार सबै ठाउँमा वितरण गरिनेछ।

उनका अनुसार मुख्य त यो खोप बुस्टर डोजको रुपमा प्रयोग हुनेछ। यस्तै फागुन ८ र ११ गते पनि  सोही परिमाणमा खोप आउनेछ। बाँकी रहेको १ लाख २० हजार खोप १५ फागुनमा आइपुग्नेसमेत उनले बताइन्। 

नयाँ बाइभ्यालेन्ट खोप ओमिक्रोन ४ र ५ मा प्रभावकारी देखिएको भन्दै नयाँ भेरियन्टमा प्रभावकारी हुने बताइएको छ। यो खोपको आपत्‌कालीन प्रयोगका लागि गत १२ पुसमा बसको औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले स्वीकृत गरिसकेको छ।

पछिल्लो समय नेपालमा कोभिडविरुद्धको खोप अभाव भएर विदेश जानेहरूले खोप लगाउन पाएका थिएनन भने  अन्य बुस्टर डोज खोप लगाउन इच्छा भएकाहरुले पनि खोप लगाउन पाएका थिएनन्। 

समाचार