सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो : गगन थापा

– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले कुनै पनि तहकाे सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताउनुभएकाे छ । सरकारले जनयुद्ध दिवसका नाममा आज साेमवार सार्वजनिक बिदा दिएकाे भन्दै चाैतर्फी विराेध भइरहेका बेला महामन्त्री थापाले विज्ञप्ति नै निकालेर स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताउनुभएकाे हाे । 

महामन्त्री थापाले पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको बताउनुभएकाे छ । उहाँले कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोडघटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थका लागि बिदा दिइएकाे भन्दै असन्तुष्टि जनाउनुभएकाे हाे । ‘झन् प्रदेश र पालिकामा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन् । यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो । सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो !’, उहाँले विज्ञप्तिमा भन्नुभएकाे छ ।

महामन्त्री थापाले कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ ? भन्दै प्रश्न गर्नुभएकाे छ । कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हाे भन्दै उहाँले याे विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिने बताउनुभयाे ।  ‘न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदासम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिन्छ । नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ’, उहाँले भन्नुभएकाे छ । 

मुख्य समाचार राजनीति समाचार