खानेपानी मन्त्रीको निर्देशन : पानीमा कसैले राजनीति नगर्नू

 खानेपानी मन्त्री अब्दुल खानले खानेपानी वितरणमा राजनीति नगर्न सबै व्यवस्थापन समिति र कर्मचारीहरूलाई निर्देशन दिएका छन्। सोमबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेयल)को १५ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्। 

उनले केही ठाउँहरूमा बढी पानी वितरण भएको र कुनै ठाउँमा हप्तौँ सम्म पनि पानी वितरण नगरिएको गुनासो आएको भन्दै यसको समाधान गर्न पनि निर्देशन दिए। ‘हाम्रो लागि पानी अपरिहार्य हो,स्वच्छ,शुद्ध पानी जनताको घरघरमा पुर्याउनुपर्ने सबैमा दायित्व छ,पानीमा राजनीति गरि जनताको स्वास्थ्यमाथि कसैले खेलवाड गर्न अधिकार छैन,’उनले भने। 

उनले अहिले भएका स्रोत साधनको खानेपानी वितरणलाई स्वच्छ र पारदर्शी रुपमा  वितरण गर्न आग्रह गरे।  उनले मेलम्चीको पानी चक्रपथ बाहिरको क्षेत्रमा पनि वितरण गर्ने प्रतिबद्धता जनाए। उनले भने,‘अहिले चक्रपथ भित्र क्षेत्रमा मात्रै पानी वितरण भएको छ,चक्रपथ बाहिर पनि वितरण गर्नुपर्ने छ,यसका लागि मन्त्रालय प्रतिबद्ध छ।’

राजनीति समाचार