ग्वार्कोमा फ्लाई ओभर निर्माण शुरु‚ बढ्यो ट्राफिक जाम

ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। ग्वार्को चोकमा गत शनिबार फ्लाई ओभर निर्माण शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो।

फ्लाई ओभर निर्माण नसकिउन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम घट्न सकेको छैन।

चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने ३ ठाउँमा फ्लाई ओभर निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा फ्लाई ओभर निर्माण गर्न लागिएको हो। ललितपुरको ग्वार्को चोकमा बन्ने ​फ्लाई ओभर १४ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य छ।

चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने ३ क्षेत्रमा फ्लाइओभर निर्माण गरिनेछ। जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाई ओभर निर्माण हुन लागेको हो।

६ मिटर उचाइ हुने फ्लाई ओभर अन्तरराष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ। कुल ४५५ मिटर लम्बाइको हुने फ्लाई ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाई ओभरमा सवारीसाधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिने सडक विभागले जनाएको छ। काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो।

राजनीति समाचार