पसल लुटपाट र तोडफोडको क्षतिपूर्ति सरकारले दिनुपर्ने माग

 नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ। 

मंगलबार महासंघले नयाँ बसपार्कस्थित ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमबार गोंगबु बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरूको प्रदर्शनका क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिए। उनले १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नु व्यवसायीको पक्षमा सरकार नदेखिएको आरोप लगाए।

उनले ल्होत्से मलको मोबाइल पसलमा भएको लुटपाटको क्षतिपूर्ति आन्दोलनकारी र राज्यले लिनुपर्ने बताए। उनले सरकारले पसल लुटपाट गर्नेहरुको अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरे। अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रूपैयाँ बराबरको क्षति भएको दावी गरे।

उनले सोमबारको घटनाबाट मुलुकको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै घटनाको सम्पूर्ण क्षतिपूर्ति राज्यले दिनुपर्ने माग गरे। उनले यो घटनाबाट व्यवसायीले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको बताए।

महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८ देखि ९ करोड रूपैयाँ बराबरको मोबाइल, पैसा र अन्य सामाग्रीहरू लुटिएको बताए। उनले सरकारले घटनाबाट भएको क्षतिपूर्ति दिने विश्वास रहेको बताए।

उनले सामान्य व्यवसायीले गरि खान समेत ठूलो समस्या आएको भन्दै राज्यले व्यवसायलाई सुरक्षित बनाउन नसकेको बताए। उनले ल्होत्से मलमा रहेका चालिसेको एसिडिसी मोबाइल पसल र डायमण्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिमा दुईवटा मोबाइल पसलमा नै लुटपाट भएको बताए। उनले केही चोरहरुलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको बताए।

महासंघका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसाय गरे जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको बताए। उनले यातायात मजदुरले आन्दोलनको नाममा पसलहरू लुटपाट गर्ने काम भएको भन्दै घटनाको जिम्मा सरकार वा आन्दोलनकारी दुवैले लिनुपर्ने बताए।

मोबाइल व्यवसायीहरूले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारवाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

सोमबार ल्होत्से मलमा सञ्चालित पसलहरूका सिसा र सटर फोरेर मोबाइल लुटिएको महासंघले जनाएको छ। पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन्।

पसलको सिसिटिभी फुटेजसमेत सार्वजनिक भएको छ। महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत निकायमा ज्ञापनपत्र बुझाउने भएको छ। 

thahakhabar
समाचार