सेल्फी खिच्न नपाएपछि सोनु निगममाथि धक्कामुक्की

भारतीय गायक सोनु निगममाथि मुम्बईको एक कन्सर्टमा दुर्व्यवहार भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति मुम्बईको चेम्बरमा आयोजित कन्सर्टमा सोनुमाथि दुर्व्यवहार भएको हो। कार्यक्रम सकेर फर्किन लाग्दा उनी र उनका साथीमाथि धक्कामुक्की भएको थियो।


सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ। उक्त भिडिओमा सोनुका अंगरक्षकले एक व्यक्तिलाई स्टेजबाट तल धकेलिदिएको देख्न सकिन्छ।


उनीमाथि धक्कामुक्की गरेको आरोप शिवसेना विधायक प्रकाश फटरपेकरका छोरालाई लागेको छ। घटनापछि सोनुले मुम्बई पुलिस थानामा आरोपीविरूद्ध उजुरी दिएका छन् तर हालसम्म आरोपीलाई पक्राउ गरिएको छैन। प्रहरी उजुरीका अनुसार विधायक प्रकाशका छोराले पहिले सोनुका म्यानेजर सायरालाई दुर्व्यवहार गरेका थिए। सोनु स्टेजबाट आउन लाग्दा उनले सोनुको अंगरक्षकलाई धक्का दिएर सोनुमाथि आक्रमण गरेका थिए।विधायकका छोराले सोनुसँग सेल्फी खिच्न नपाएपछि स्टेजमा आक्रमण गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।


‘कन्सर्ट सकिएपछि म स्टेजबाट तल आउँदै थिएँ। एक व्यक्ति स्वप्निलले मलाई समात्यो। त्यसपछि उसले मेरा साथीलाई धक्का दियो जो मलाई बचाउन आएका थिए। मैले उजुरी दिएको छु ताकी मानिसहरू जबरजस्ती सेल्फी लिन र धक्कामुक्की गर्ने बारे नसोचून्,’ सोनुले भने।


घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

समाज