वन अधिकृतलाई कुट्ने विप्लव कार्यकर्ता पक्राउ

संखुवासभा : संखुवासभाको डिभिजन वन कार्यालयका सहायक वन अधिकृतलाई कुटपिट गरेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ता लोकेन्द्र लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

बुधबार बेलुकी ५ बजे कार्यकक्षमै प्रवेश गरेर विप्लव कार्यकर्ता लिम्बुसहितको टोलीले सहायक वन अधिकृत नविनराज दाहाललाई कुटपिट गरेको डिएसपी गोदारले बताए। प्रहरीले लिम्बुलाई नयाँ बजारबाट बुधबार राति पक्राउ गरिसकेको छ।

गिरफ्तार भएका लिम्बुमाथि अनुसन्धान भइरहेको डिएसपी गोदारले बताए। घटनामा संंलग्न अन्यको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

कुटपिटबाट सहायक वन अधिकृतको टाउकोमा गहिरो चोट लागेको छ। कुटपिटबाट घाइते भएका सहायक वन अधिकृत दाहालको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दाहालको टाउकोमा ६ टाँका लगाइएको छ।

 आधा दर्जनको संख्यामा रहेका विप्लव कार्यकर्ताले कार्यालयभित्रै प्रवेश गरेर कुटपिट गरेको सहायक वन अधिकृत दाहालले बताए। विप्लव समूहले मागेबमोजिम चन्दा नदिएपछि आफूलाई कुटपिट भएको उनले बताए।

६/७ जना विप्लव कार्यकर्ता कार्यालयभित्रै पसेर सहायक वन अधिकृत दाहाललाई कुटपिट गरेको डिभिजन वन कार्यालय संखुवासभाका प्रमुख डा इन्द्र सापकोटाले जानकारी दिए।

डिभिजन वन कार्यालयका प्रमुख सापकोटाका अनुसार कार्यालयको काम गरिरहेका वेला विप्लव समूहका कार्यकर्ताले निर्घात कुटपिट गरेका थिए। कुटपिटमा संलग्नहरूमाथि कारवाही माग गर्दै जिल्लास्थित विभिन्न कर्मचारी संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

कर्मचारीको शान्ति सुरक्षा प्रत्याभूति गर्न, पीडितको औषधी उपचार र दोषीलाई हदैसम्मको कानुनी कारवाही उनीहरूले माग गरेका छन्। घटनाको भर्त्सना गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती युनियनले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

समाज