मेयर कप भलिबलको उपाधि जित्यो बाराले

सर्लाही : ​महाशिवरात्री पर्वको अवसरमा हरिपुर नगरपालिका–७ स्थित धार्मिक एवं ऐतिहासिक चितायन मेला स्थलमा भएको अन्तर प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि बारा जिल्लाले हात पारेको छ।

प्रतियोगिताको फाइनल खेलमा झापा जिल्लालाई ३–१ सेटमा पराजित गर्दै बारा विजेता बनेको हो। जितसँगै बाराले ८० हजार रूपैयाँ नगदसहित ट्रफी पाएको छ।

उपविजेता बनेको झापा भने ५० हजार रूपैयाँमा चित्त बुझाउन बाध्य भयो। प्रतियोगितामा सर्वोत्कृष्ट हुने बाराका विजय थापासहित विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको कार्यक्रम सञ्चालक चेतनारायण धामीले जानकारी दिए।

विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीलाई आयोजक लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरि धामी, प्रदेशसभा सदस्य बेची लुंगेली, हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियार, उपमेयर निलमदेवी राय यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, हरिपुर नगरपालिका-७ का वडाध्यक्ष मनोजकुमार चौधरी, नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, राष्ट्रिय भलिबल टिमका पूर्व खेलाडी भरतबहादुर साह, समाजसेवी सुनिल बस्नेत, इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विजय कुँवरलगायत भएर पुरस्कार वितरण गरेका छन्।

लक्ष्मीनाथ युवा क्लब चितायनको आयोजना तथा हरिपुर नगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा सर्लाही, बारा, झापा, सिन्धुली, मकवानपुर, महोत्तरी, धनुषा, सशस्त्र प्रहरीको २ नम्बर वाहिनी बर्दीवास र मेघरौल महोत्तरीसहित ९ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको समापनकै अवसरमा ईश्वरपुर नगरपालिका–३ भक्तिपुर निवासी समाजसेवी सुनिल बस्नेतले जिल्ला भलिबल संघका सर्लाहीका लागि संघका अध्यक्ष रामानन्द सिंह थारुलाई १० थान जर्सी प्रदान गरेका छन्।

समाचार