हामीलाई सरकारबाट निकाल्न थेगिनसक्नु दबाब थियो : एमाले

: नेकपा एमालेले आफ्नो पार्टीलाई सरकारबाट बाहिरिन प्रधानमन्त्रीबाट थेगिनसक्नुको दबाब आएको हुनाले समर्थन फिर्ता लिनुपरेको बताएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए।

उनले प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाए। उनले प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाए।

उनले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर परेको दाबी गरे।

उनले भने, ‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ। हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ। राष्ट्रपतिमा भएको सहमति कार्यान्यन गर्नुभएन र अरू दलको समर्थनमा काँग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो। तर पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभए पनि देशको परिस्थिति हेरेर अघि बढीरहेका थियौँ। तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ । त्यसैले सरकारबाट फिर्ता हुने नर्णय गरेका छौँ। राष्ट्रको इज्जतमाथि नै यसले प्रतिकुल असर पारेको छ।’

उनले प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको आरोप लगाए।  

राजनीति