बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले आइतबार दुई वटा विधेयक पारितको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

आइतबार प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ सर्वसम्मतीबाट पारित भएका हो ।

सो बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ती दुबै विधेयकहरुलाई पारित गरियोस् भनि प्रस्ताव टेबुल गरेका थिए ।

यसैगरी, आइतबार साँझ बसेको पहिलो बैठकमा विधेयक व्यवस्थापन विशेष समितिका संयोजक डा. दिनेशचन्द्र देवकोटाले उक्त समितिमा दफावार छलफल भई अन्तिम निर्णय भएको प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

उक्त विधेयक व्यवस्थापन विशेष समितिले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ माथि प्रदेश सभाका १८ जना सदस्यहरुले संसदमा प्रस्तुत गरेको रायहरुलाई पनि समावेश गरी प्रतिवेदन तयार गरिएको संयोजक डा. देवकोटाले बताएका थिए ।

तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दुई वटा अध्यादेश मार्फत जारी गरेको विधेयकलाई विस्थापित गरी नयाँ विधेयकलाई ऐनको रुपमा पारित गरिएको प्रदेश सभाका सभामुख पाठकले बताए ।

राजनीति