रामचन्द्रका लागि मत माग्दै देउवाले लेखे ओलीलाई चिठी

नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्न आग्रह गर्दै नेकपा एमालेलाई पत्र पठाएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले २५ फागुनमा हुने राष्ट्रपति चुनावमा पौडेललाई समर्थन गर्न आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका हुन् । 

राष्ट्रपति चुनावमा एमालेले पनि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । एमाले अध्यक्ष ओलीले यसअघि नै कांग्रेसबाहेकका सबै दललाई नेम्वाङका पक्षमा मतदान गर्न अपिल गर्दै पत्र पठाएका थिए । 

सभापति देउवाले एमाले अध्यक्षलाई पत्र पठाएकोबारे जानकारी दिँदै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहेको बताएका छन् ।

‘लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन । यो अभ्यासले समाजलाई सुसंस्कृत सन्देश दिन सक्नुपर्छ । विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ । कांग्रेसका तर्फबाट सभापतिको पत्र एमाले अध्यक्षलाई’, शर्माले ट्वीटमा भनेका छन् । 

मुख्य समाचार राजनीति