नेपाली सेनाको डेटा टर्की पुग्छ : आरजु राणा

 नेपाली काँग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको खुलासा गरेकी छन्।

मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले नेपालमा डिजिटल प्रणाली शुरुवात गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरू पूर्ण सक्षम नरहेको बताइन्।

उनले नेपाली सेनाको डेटाहरू आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन्। उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबै खाले तथ्यांक चोरी हुने खतरा रहेको उल्लेख गरिन्।

हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीले थप अध्ययन गर्न आवश्यक रहेको चर्चा गरिन्।

उनले भनिन्यो, ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो। जर्साबहरूको सबै इमेल देखाइदियो मलाई। पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ। त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो। साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ। सरकारले केही न केही गरेको छ, विद्यार्थीहरूले यसमा अनुसन्धान गर्नुपर्छ।’

त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेविसंघको अबको एजेण्डा शैक्षिक, सामाजिक, युवाहरूलाई उद्यमशील बनाउने, नेपालमै युवालाई टिकाउने र जलवायु परिवर्तनको एजेण्डामा केन्द्रित रहेको बताए।

उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै किसिमको अध्ययन र अनुसन्धान गरी आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको बताए।

त्यस्तै पुल्चोक क्याम्पसका विद्यार्थी अस्मित तिमल्सिनाले नेविसंघले विद्यार्थीहरूको प्रोग्रामिङ स्किलबाट नेपालमा भइरहेको सामाजिक समस्याको समाधान गर्न कार्यक्रम अल नेपाल ह्याकथन कार्यक्रम आयोजना गरेको स्पष्ट परे।

उनले कार्यक्रमले ढल व्यवस्थापन, ट्राफिक म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालयको ढिलो नतिजा प्रकाशन सम्बन्धीका बारेमा पनि समस्या समाधानका लागि कार्यक्रम आयोजना गरेको बताए।

उहाँले भन्नुभयो, ‘प्रोग्रामिङ स्किल यहाँ हामीले देखाउन सक्छौँ। समाजमा भोगिरहेका सहस्या विद्यार्थी तहबाट कसरी समाधान गर्नसक्छौँ भन्ने बारेमा यो कार्यक्रम गरेका हौँ।’

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको अल नेपाल ह्याकथन कार्यक्रममा विद्यार्थीले आफ्नो प्रोग्रामिङ स्किलबाट समाजका समस्या समाधान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको थियो।

राजनीति समाचार