सन् २०२६ सम्म नेपाल जलविद्युत्‌मा आत्मनिर्भर : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत्‌मा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन्।

मंगलवार काठमाडौंमा भएको नेपालमा जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन्। उनले पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए।

उनले जलविद्युत्‌मा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावाट विद्युत् बढी हुने उल्लेख गरे। उनले सन् २०३५ सम्म नेपालमा ८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए।

उनले नेपालको जलविद्युत् उत्पादन क्षमता २ हजार ५४४ मेगावाट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत् उत्पादन बढ्दै गएको बताए।

निर्देशक घिसिङले सन् २०४२/४३ सम्म २० हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए। उनले पछिल्लो समय उद्योगमा जलविद्युत्‌को माग राम्रो रहेको बताए।

उनले ११ हजार मेगावाट जलविद्युत् उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका भन्दै करिब ७ हजार मेगावाटको पीपीए भइसकेको बताए।

उनले भने, ‘ऊर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ। ११ हजार मेगावाट जलविद्युत् उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका छन्। पछिल्लो पाँच वर्षको ७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान छ। विद्युत् उत्पादन र विद्युत् खपतका लागि पनि लगानी गर्नुपर्ने अवस्था छ। त्यसमा निर्यात र स्वदेशमै खपत गर्नका लागि पनि ट्रान्समिशन लाइन बनाउनुपर्छ। सन् २०३५ सम्म ८ हजार मेगावाटको माग पुग्ने देखिन्छ।  यसरी हेर्दा सन् २०४२/४३ सम्म २० हजारसम्म आउँछ भन्ने अनुमान हो। सन् २०२६ सम्म नेपाल सुक्खा याममा पनि जलविद्युत्‌मा आत्मनिर्भर हुन्छौं। नेपालको उद्योग स्थापना वृद्धि भएर उद्योगमा जलविद्युत्‌को माग राम्रो रहेको हुनाले अवधि अघिपछि पनि हुनसक्छ।’

त्यस्तै निर्देशक घिसिङले जलविद्युत् उत्पादनका लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताए। उनले एजीम बैंकबाट ७ सय मिलियन,जाइकाले १४० मिलियन,विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गरे।

उनले जलविद्युत् उत्पादनका लागि नयाँनयाँ प्रोजेक्ट बनाउन अहिले प्राप्त लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताए।

उनले सरकारले जलविद्युत्‌मा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताए। उनले प्राधिकरण जलविद्युत् उत्पादनका लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि बताए।

राजनीति समाचार