२१ गतेसम्म विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह

 धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह फागुन २१ गतेभित्र विश्वासकाे मत लिने तयारीमा जुटेका छन्। तर मन्त्रालय बाँडफाँडको टुंगाे नलाग्दा माओेवादी सहमत भइसकेकाे छैन । गठबन्धनमा रहेका अन्य दल विश्वासको मत दिन तयार भए पनि माओवादी केन्द्रले पहिले शक्ति बाडफाँटमा सहमति हुनुपर्ने अडान राखेकाे छ।


मुख्यमन्त्री शाह माओवादीलाई सहमत गराउन छलफल गरिरहेका छन्। उनी माओवादीलाई सहमतिमा ल्याएर फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारीमा छन् । विश्वासको मत लिन नसकेपछि एमालेका राजेन्द्रसिंह रावलको सरकार गत माघ २६ गते ढलेसँगै ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कांग्रेसका कमलबहादुर शाहले फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ ।


शाहलाई विश्वासको मत दिन गठबन्धनमा रहेका कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी तयार छन्। यसअघि एमालेका मुख्यमन्त्रीलाई विश्वासकाे मत नदिएकाे नागरिक उन्मुक्ति यस पटक कांग्रेसलाई भने विश्वासकाे मत दिन तयार रहेकाे स्राेतले बताएकाे छ।


माओवादी केन्द्रले भने शीर्ष नेतृत्वको निर्णय पर्खेको छ। एमाले नेतृत्वमा बनेको सरकारमा विनाविभागीय मन्त्री रहिसकेका सुदूरपश्चिममा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले शीर्ष तहमा शक्ति बाँडफाँटको विषय टुंग्याएर मात्रै सरकारमा सहभागी हुने पक्षमा पार्टी रहेको बताए।


अहिले शीर्ष नेतासँग छलफल गर्न काठमाडौँमा रहेका भट्टले पनि २१ गतेभित्रै प्रदेश सरकारले विश्वासको मत लिने बताएका छन्। प्याकेजमै सहमति गरेर विश्वासको मत दिने र पार्टी सरकारमा पनि सहभागी हुने उनकाे भनाइ छ । ‘सरकारमा सहभागी हुने विषयमा छलफल चलिरेहको छ तर टुंगाे लागेको छैन, शीर्ष नेताहरूको बीचमा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘२१ गते भित्रै विश्वासको मत दिने कुरामा एक दुई दिनमा निर्णय हुन्छ। हामी प्याकेजमै सबै कुराको सहमति होस् भनेर छलफलमै छौँ ।’


महत्त्वपूर्ण मन्त्रालयसहित सरकारमा सहभागी हुने र साढे दुई वर्षपछि सुदूरपश्चिम सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने लबिङ माओवादी केन्द्रको छ।

राजनीति