माओवादी मकवानपुरको संगठन तथा जनसम्वन्ध सुदृढ अभियानको शुभारम्भ

राज कुमार के.सी.
१७ फागुन,हेटोंडा- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मकवानपुरले दुई महिने संगठन तथा जनसम्वन्ध सुदृढ अभियानको शुभारम्भ गरेको छ ।

मंगलबार जिल्ला पार्टी कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सो अभियानको शुभारम्भ गर्नुभएको हो । जमकट्टेलले हालसम्मको राजनैतिक उपलब्धी माओबादी केन्द्रको आन्दोलनको कारण भएकोले यसलाई संस्थागत बिकास गर्नकालागि क्रियाशिल हुन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ । उहाँले प्रदेश सरकार र स्थानीय सरकारलाई नमूना योग्य बनाउन बिशेष योजना तयार गरी सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पार्टीको सम्वन्धलाई जनस्तरमा सुदृढ गरी बिकेन्द्रित अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले जनताको सल्लाह, सुझाव रचाहना अनुसार पार्टीको गतिबिधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।

अभियानका क्रममा जिल्लाको संघीय र प्रदेश निर्वाचन क्षेत्रहरुमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई कमाण्डर तोकिएको केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताउनुभयो । लामिछानेले अभियानका क्रममा शहीद परिवार, घाईते, बेपत्ता योद्धा परिवार, पूर्व जनमुक्तिसेना भेटघाट, पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता बितरण गरिनुका साथै नागरिकहरुलाई आत्मनिर्भर बनाउन उत्पादन योजना निर्माण गरिने बताउनुभयो । उहाँले अभियानका क्रममा पार्टीलाई बिकसित नयाँ प्रबिधि अनुरुप अगाडि बढाउने समेत बताउनुभयो ।

पार्टीको दुई महिने संगठन तथा जनसम्वन्ध सुदृढ अभियानका क्रममा पार्टीका सबै संगठनहरुलाई क्रियाशिल बनाई नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने पार्टी जिल्ला समन्वय समितिका सचिव भीम पाख्रिनले बताउनुभयो ।

पार्टी जिल्ला समन्वय समिति संयोजक शर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु सन्तोष बिष्ट, मान कुमारी पाख्रिन, पार्टी बागमती प्रदेश कमिटि उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समितिका पदाधिकारीहरु लगायत पालिका कमिटि अध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बागमती प्रदेश राजनीति